राजनीति

संकटमा कांग्रेस-माओवादी गठबन्धन !

काठमाडाैं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढ्दै जाँदा सत्ता गठबन्धन नै सङ्कटमा परेको छ । पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभाको अध्यक्षको विषयमा कुरा नमिल्दा दुई पार्टीबीच असमझदारी बढेको हो ।

कांग्रेससँग असमझदारी बढेपछि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर नयाँ समीकरण बनाउने गृहकार्य थालेका छन् ।

माओवादीसँगको गठबन्धन जोगाउन कांग्रेसले पनि पहल गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका छन् । उनले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने भएकाले त्यसका लागि तयार रहन निर्देशन दिएका छन् ।

यही बीचमा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण रद्द भएको छ । फिनल्यान्डकाे हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन गए राति परराष्ट्रमन्त्री साउद त्यसतर्फ जाने तयारीमा थिए । तर अन्तिम समयमा भ्रमण रद्द भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

कांग्रेस सभापति देउवाले मन्त्री हेरफेर गरेर भए पनि गठबन्धन जोगाउने पहल गरिरहँदा प्रधानमन्त्री प्रचण्डले भने नयाँ सत्ता समीकरणका लागि छलफल बढाएका छन् । हिजो बेलुकी प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ ।

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक जारी छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत