राजनीति

रेशम चौधरीलाई निर्वाचन आयोगले दिएन अध्यक्षको मान्यता

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी अध्यक्षको रुपमा कायम हुन नसक्ने निर्णय गरेकोछ ।

पार्टी अध्यक्षको रुपमा अद्यावधिक गर्न दिएको निवेदनमाथि बिहीबार आयोगले निर्णय गर्दै चौधरी ऐन, नियमावली र पार्टीकै विधान अनुसार पनि अध्यक्ष बन्न अयोग्य रहेको उल्लेख गरेको छ ।

आयोगले अदालतका फैसला, पार्टीकै विधान र अन्य कानुन र नजिरहरू समेतको आधारमा उक्त निर्णय गरेको हो । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार कानुन बमोजिम अद्यावधिक गर्न नमिल्ने देखिएको बताए ।

व्यक्ति हत्या अभियोगमा चौधरी सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका दोषी हुन् । उनलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले सजाय माफी सिफारिस गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट माफी पाएका थिए । राजनीतिक दलसम्बन्धी ऐन र अदालतका फैसलाहरूले समेत फौजदारी कसुरमा परेका व्यक्ति पार्टीको सदस्य समेत हुन अयोग्य रहने व्यवस्था गरेकोले त्यस्तो व्यक्तिलाई अध्यक्षको रुपमा अद्यावधिक गर्न नसक्ने नमिल्ने आयोगको निर्णयको सार छ ।

राष्ट्रपतिबाट पाएको माफी बाँकी कैद सजायका लागि मात्रै रहेको तर यो माफीले कसुरबाट चाहिँ उन्मुक्ति नमिल्ने आयोगको निर्णयको आशय छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत