खेल

जितका लागि पीएनजीले नेपाललाई १७२ रनको लक्ष्य

काठमाडौं । हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा पीएनजीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ ।

पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन जोड्यो । ओपनर टोनी उराले ६१ रनको आक्रामक इनिङ खेलेर राम्रो सुरुवात दिलाएको पिएनजीका लागि एलि नाओले आक्रामक अन्त्य गरेका थिए । मध्यक्रम भने खासै चल्न सकेन ।

ओपनर उराले ३७ बलमा ५ चौका र ४ छक्कासहित ६१ रन जोडे । उनी १४ औं ओभरमा कुशल भुर्तेलको बलमा आउट भएका थिए । तल्लोक्रममा नाओले १० बलमा नटआउट ३० रन जोडे । उनले १ चौका र ३ छक्का प्रहार गरेका थिए ।

नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले ३-३ विकेट लिए । करण केसी र गुलशन झाले १-१ विकेट लिए ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङको निर्णय लिएका थिए । नेपाली टोलीमा आज कुनै परिवर्तन गरिएको छैन । हिजो पिएनजीविरुद्धको जितमा खेलेको प्लेइङ ११ लागि नै निरन्तरता दिइएको हो ।

नेपालले मंगलबार सम्पन्न खेलमा पिएनजीलाई ८५ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै पिएनजीले हिजो नै भएको दोस्रो खेलमा हङकङमाथि १० विकेटको जित दर्ता गर्दै नेपालसँग फाइनल भेट पक्का गर्यो । नेपाल र हङकङबीच भएको पहिलो खेल भने वर्षाले पूरा हुन नसक्दा अंक बाँडिएको थियो ।

नेपालले पिएनजीविरुद्ध पछिल्लो ४ टि२० खेलमा हार बेहोरेको छैन । सन् २०२२ मा नेपालमा सम्पन्न त्रिकोणात्मक सिरिजमा पनि नेपालले फाइनलमा पिएनजीलाई नै हराएको थियो । उक्त सिरिजमा मलेसिया पनि सहभागी थियो ।

नेपालको प्लेइङ ११:रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, लोकेश बम, विवेक यादव, करण केसी, आकाश चन्द, प्रतिश जिस

गाउँ सहर संवाददाता

तपाईँको मत