पूर्वाधार

नागढुंगा-सिस्नेखोला सुरुङ ‘ब्रेकथ्रु’ आज

काठमाडौं। नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज सोमबार ‘ब्रेकथ्रु’ हुने भएको छ । नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले दिएको जानकारीअनुसार आज सोमबार औपचारिक कार्यक्रम गरेर सुरुङ ‘ब्रेकथ्रु’ गरिनेछ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुने भएका छन् । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ६७ मिटर छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेकथ्रु भइसकेको छ ।

आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारीसाधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल र एउटा फ्लाइओभर रहेका छन् ।

बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत