अर्थतन्त्र

प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार ५ सय १७ हुने अनुमान

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेकाे हो ।

कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको विवरण समेत सार्वजनिक गरेको छ । यस्तै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको ३.२८ प्रतिशत र गैर कृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमश: ३.२५ प्रतिशत, ४.६५ प्रतिशत र ४.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ भने प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा क्रमश: २५.६ प्रतिशत, १२.४ प्रतिशत र ६२.० प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान गरिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

तथ्यांक कार्यालयले १८ किसिमका आर्थिक क्रियाकलापमा वर्गीकरण गरी राष्ट्रिय लेखाका अनुमान प्रकाशन गरिएको छ । जसमध्ये चालु आर्थिक वर्षमा कुल मूल्य अभिवृद्धिको सबैभन्दा धेरै वृद्धिदर १३.८२ प्रतिशत विद्युत तथा ग्याँस क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रलाई ९.४३ प्रतिशतले पछ्याएर यातायात तथा भण्डार क्षेत्रले दोस्रो धेरै वृद्धि गर्ने क्षेत्रको रूपमा रहेको छ ।

यस्तै, शिक्षा १.९८ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रको वृद्धि १.९९ प्रतिशतले तुलनात्मक रूपमा सबैभन्दा कम रहने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा यस वर्ष कृषि, वन तथा मत्स्य क्षेत्र २५.१६ प्रतिशत, व्यापार क्षेत्र १४.५५ प्रतिशतले योगदान गर्ने अनुमान गरिएको छ । अर्कोतर्फ, पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापनले ०.४२ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रले ०.४६ प्रतिशत तुलनात्मक रूपमा सबैभन्दा थोरै योगदान गर्ने क्रियाकलाप रहेको कार्यालयले जनाएको छ ।

यस्तै चालु आर्थिक वर्षमा आधारभुत मूल्यको कुल उत्पादन ९२ खर्ब ४६ अर्ब ५५ करोड, मध्यवर्ती उपभोग ३८ खर्ब ६६ अर्ब ९६ करोड र जिडिपीको २४.०७ प्रतिशत कुल स्थिर पुँजी निर्माण हुने अनुमान गरिएको छ । त्यस्तै जिडिपीको ९३.४५ प्रतिशत अन्तिम उपभोग खर्च, ८.७४ प्रतिशतको वस्तु तथा सेवा निर्यात, ३३.२३ प्रतिशत वस्तु तथा सेवा आयात हुने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा ३६.२४ प्रतिशत कुल राष्ट्रिय वचत हुने प्रारम्भिक अनुमान गरिएको छ भने वैदेशिक रोजगारबाट २५.८९ प्रतिशत विप्रेषण प्राप्त हुने प्रारम्भिक अनुमान गरिएको छ । साथै, प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ४ सय ९६ अमेरिकी डलर हुने अनुमान गरिएको छ भने प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार ५ सय १७ हुने अनुमान गरिएको तथ्यांक कार्यालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत