राजनीति

'पृथ्वीनारायण शाहले मेरो देश हो भन्ने अनुभूति गर्ने अवस्था विकास गरे'

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाहले व्यवहार र अभ्यासमै नेपाललाई राष्ट्र–राज्यको रुपमा विकसित गरेको बताए ।

‘त्यो बेला राष्ट्र–राज्यको सिद्धान्त कतै प्रतिपादन भएको थिएन, तैपनि पृथ्वीनारायण शाहले सामुहिक राष्ट्रिय भावनालाई जनस्तरसम्म लगे । समावेशी भावना अनुरुप सबै जातजाति, धर्म, संस्कृति, सम्प्रदायले यो मेरो देश हो भन्ने अनुभूति गर्ने अवस्था विकास गरे,’ डा लोहनीले पृथ्वीपथ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दे शुक्रबार भने ।

‘पृथ्वीनारायण शाहले शासनमा जनताको सर्वोच्चता लागू गरे । यो अर्को महत्वपूर्ण योगदान हो उनको । आफ्‌नो रुची विराज बखती भए पनि जनमतको आधारमा कालु पाँडेलाई काजी नियुक्त गरे । राष्ट्र–राज्य बीचको दुरी व्यवहारमा हटाए । स्थानीय आधारमा सबैलाई समटेर लगे,’ लोहनीले भने ।

नेता लोहनीले भने अनुसार पृथ्वीनारायण शाहले राजनीति र प्रशासन, सुरक्षा, अर्थ, संस्कृति र परराष्ट्रको क्षेत्रलाई राज्य संचालनको अभिन्न अंगको रुपमा अघि बढाएका थिए ।

राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले भने, ‘राष्ट्र केवल भूमि होइन, धर्म, संस्कृति, भाषा, जातीयता सबैको मिलन बिन्दु हो भन्ने दृष्टिकोण पृथ्वीनारायण शाहले लिएका थिए । जस अनुरुप बनेको नेपालको जग यति सबल र गतिशील रह्यो, पृथ्वीनारायण शाहले छाडेर गएको नेपाल विखण्डनको मारमा कहिले परेन । विभिन्न चुनौति र उतारचढावका बाबजुद पराधीन हुन परेन ।’

लावतीले भने, ‘युद्ध र कुटनीतिको दुई खम्बे मार्गचित्रमा नेपाली समाजको आधार निर्माण भयोे । पृथ्वीनारायण शाह सैन्य बलमा मात्र निर्भर रहेनन्, एकीकरणलाई सफल निष्कर्षमा लैजान उनी जनताको मन जित्न सदा प्रयासरत रहे । सहअस्तित्वमा अडेको सहिष्णु नेपाली समाजको निर्माण गरे ।’

पूर्वमन्त्री दिपक ज्ञवालीले भने, ‘एकीकरणको सफलतापछि पृथ्वीनारायण शाहले नेपालको बाँडफाँड गरेनन्, नेपालको अविभाज्यता कायम राखे । जबकी मल्ल राजाले काठमाडौं, पाटन र भक्तपुर छोराहरुलाई बाँडेका थिए । नेपालमा मात्र होइन, नेपोलियनले समेत यूरोपका विभिन्न देशहरु भाइहरुलाई बाँडे । त्यो समय कसैले नगरेको काम पृथ्वीनारायण शाहले गरे, नेपाललाई एक ढिक्का राखे ।’

पृथ्वीनारायण शाहले चार जात छत्तीस वर्णको मात्र कुरा गरेनन्, आ–आफ्‌नो कुल धर्म मान्नु पनि भने । सबै धर्म परम्परा मान्ने आधार र स्वतन्त्रता खडा गरे, ज्ञवालीले भने । ‘पृथ्वीनारायण शाहले सेना बनाए, जो तत्कालीन समयको लागि नौलो अभ्यास थियो,’ उनले भने ।

डा. सुरेन्द्र केसीले पृथ्वीनारायण शाहको शासन अहिलेको भन्दा धेरै सफल र व्यवहारिक भएको बताए । ‘आठ क्लास पढेको मान्छे प्रधानमन्त्री, सात क्लास पढेको मान्छे अर्थमन्त्री, दश क्लास पढेको मान्छे शिक्षा मन्त्री, त्यही भएर देशमा केही हुँदैन भनेर सबै बाहिर गइरहेका छन्,’ उनले भने ।

राष्ट्रवादी मातृशक्तिकी संयोजक समृद्धी राणा बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वसांसद गंगा चौधरी र बेबीसा भण्डारीले पृथ्वीनारायण शाहको देनबारे चर्चा गरे ।

गाउँ सहर संवाददाता

तपाईँको मत