प्रधानमन्त्री ओलिको गाली पूर्वराजालाई, लाज आफ्नै निकम्मापनको
- सन्ताेष सिम्खडा
- २३ बैशाख मंगलबार, २०८२ | १४:२६:०० मा प्रकाशित

देशले राजतन्त्रलाई त्यागेको दशकौं भइसकेको छ। तीव्र जनआन्दोलनको बलमा नेपाली जनताले लोकतन्त्र, त्यसपछि गणतन्त्रको बाटो रोजे। त्यही बाटो हिँड्दै नयाँ संविधान बन्यो, संघीयता आयो र देशमा गणतान्त्रिक प्रणाली स्थापनाको ढोका खुल्यो।
तर आज, १६ वर्षपछि पनि जनताले अपेक्षाअनुसारको शासन र सेवा पाएका छैनन्। बरु, दिनदिनै बढ्दो बेरोजगारी, मूल्यवृद्धि, सत्ताको दम्भ, शासनप्रतिको निराशा र फैलँदो राजनीतिक वितृष्णाले यो व्यवस्थाको सार्थकता माथि गम्भीर प्रश्न खडा गरिदिएको छ।
यस्तो अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सार्वजनिक रूपमै देशप्रतिको चिन्ता र राज्यप्रति खबरदारी व्यक्त गरिनु अस्वाभाविक होइन। लोकतन्त्रको अर्थ नै हो सबै नागरिकलाई बोल्न, प्रश्न गर्न र चिन्ता राख्न दिने शासन। पूर्वराजा अब सत्तामा छैनन्। उनी एक साधारण नागरिकका रूपमा देशको विगत नजिकबाट देखेका, भोगेका व्यक्ति हुन्। देशभित्र र बाहिर रहँदा उनले जनभावना महसुस गरेका छन्। त्यसैले उनी कहिलेकाहीँ बोलेको राजनीतिक सन्देश सत्ताका लागि असहज त हुनसक्छ, तर त्यो आपराधिक होइन।
तर दुर्भाग्य, सत्ताधारी नेतृत्व विशेषतः पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनका अनुयायीहरू बारम्बार पूर्वराजामाथि तिक्त र अमर्यादित टिप्पणी गर्दै आएका छन्। पछिल्लो पटक त ओलीले पूर्वराजाका नाति हृदयेन्द्र शाहलाई ‘कलाकार बन्न सुझाव दिने’ सम्मको टिप्पणी गरे।
प्रश्न उठ्छ के हृदयेन्द्र कलाकार बनून् वा नबनून् भन्ने निर्णय सरकार प्रमुखले गर्ने हो? अझ गम्भीर प्रश्न छ: के आजको नेपालमा सत्ताको समीक्षक बन्ने जो–कोहीलाई ‘कलाकार बन्न’ सल्लाह दिएर गम्भीर प्रश्नबाट पन्छिन पाइन्छ?
प्रधानमन्त्रीज्यू, तपाईं त स्वयं कलाकार हो तर देश विकासको होइन, ‘लुटतन्त्र’ नामक लामो चलचित्र निर्देशन गर्ने कलाकार। त्यो चलचित्रमा पात्रहरू पहिले नै तय छन् तपाईं निर्माता र निर्देशक, प्रचण्ड द्वन्द्व निर्देशक, देउवा संवाद लेखक, बाबुराम सेट डिजाइनर, माधव नेपाल सहनिर्देशक, र अन्य नेताहरू आ–आफ्ना नाटकीय भूमिकामा। १६ वर्षदेखि चलिरहेको यो चलचित्रमा जनतालाई मात्र दर्शक बनाइएको छ। न चलचित्र सकिन्छ, न यसको त्रासदीपूर्ण अन्त्य देखिन्छ।
नेताहरूलाई डर छ, पूर्वराजाको बोलीले गणतन्त्र डगमगिन्छ। तर के साँच्चै गणतन्त्र यति कमजोर छ कि एक जना पूर्वराजाको चेतावनीले त्यसलाई हल्लाइहाल्छ?
वास्तविकता के हो भने, गणतन्त्रको संकट पूर्वराजाको बोलीले होइन, सत्ताधारीहरूको अकर्मण्यता, बेमतलबी लफ्फाजी, र चरम भ्रष्टाचारले सिर्जना गरेको हो। जनताको जीवनस्तर खस्किएको छ, न्याय प्रणालीमाथि विश्वास हराउँदै गएको छ, र विकासको नाममा बजेट कुहिएको छ। यस्तो अवस्थामा पूर्वराजाले बोलेकोमा रोष देखाउनु सत्ताको कमजोरी हो, गणतन्त्रको सुरक्षा होइन।
आज जनताले गणतन्त्रसँग होइन, गणतन्त्रको नाममा फैलिएको लुटतन्त्रसँग संघर्ष गरिरहेका छन्। नेताहरू पूर्वराजालाई मोहरा बनाएर जनताको ध्यान साँचो मुद्दाबाट हटाउन खोजिरहेका छन्। भ्रष्टाचार, सुशासनको अभाव, बेरोजगारीजस्ता विषय उठ्न नदिन पूर्वराजालाई ‘कवच’ बनाइँदैछ।
तर देशले माग गरिरहेको छ पूर्वराजाको आलोचना होइन, वर्तमान सत्ताको जवाफदेहिता। जनताको जीवनसँग जोडिएका सवालमा दृष्टिकोण परिवर्तन। गणतन्त्रको नाममा स्थापित नयाँ अभिजात वर्गको शासनप्रति गम्भीर समीक्षा।
यदि गणतन्त्रले साँच्चिकै जरा गाड्न चाहन्छ भने, जनताको मन जित्नैपर्छ। गाली गरेर होइन, सेवा गरेर। दमन गरेर होइन, संवाद गरेर।
वास्तविक चिन्ता पूर्वराजा बोल्छन् भन्ने होइन, जनता निराश छन् भन्ने हो। यही चेतावनी हो व्यवस्था बचाउने हो भने, व्यवस्था सुधार्नुपर्छ।
गणतन्त्र तब बलियो हुन्छ, जब सत्तामा रहेका नेताहरू जनता र आलोचनाप्रति उत्तरदायी हुन्छन्। होइन भने, आलोचकहरू होइन, शासन गर्नेहरू नै गणतन्त्रको सबैभन्दा ठूलो खतरा बन्छन्।
सन्तोष सिम्खडा
टोकियो जापान
प्रतिकृया दिनुहोस