स्मरण ढकालको जीवन रक्षाको लागि स्वास्थ मन्त्रीलाई चिठ्ठी
- सन्ताेष सिम्खडा
- १९ जेठ सोमबार, २०८२ | २१:०९:०० मा प्रकाशित

माननीय स्वास्थ्यमन्त्री श्री प्रदीप पौडेलज्यू,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,
नेपाल सरकार,
रामशाहपथ, काठमाडौं।
विषय: स्मरण ढकालको जीवन रक्षाका लागि सरकारको अभिभावकीय जिम्मेवारी पूरा गर्न हार्दिक अपिल
माननीय मन्त्रीज्यू,
सर्वप्रथम, नेपालका हरेक नागरिकको स्वास्थ्य र कल्याणका लागि तपाईंको नेतृत्वमा भइरहेका अथक प्रयासहरूका लागि हृदयदेखि धन्यवाद व्यक्त गर्दछु। आज म, एक सामान्य नागरिकको हैसियतले, तपाईं र नेपाल सरकारप्रति ठूलो आशा र विश्वासका साथ यो पत्र लेख्दैछु। यो पत्र केवल एक अपिल मात्र होइन, यो एक निर्दोष बालकको जीवन रक्षाको पुकार हो, जसको भविष्य तपाईंको हातमा छ।
भिमसेनथापा गाउँपालिका-५, बगुवा निवासी समाजसेवी श्री शंकर ढकालको १० वर्षीय छोरा स्मरण ढकालको जीवन अहिले मृत्युको छायाँमा छ। उनको दुवै मिर्गौलामा गम्भीर र जटिल रोगले आक्रमण गरेको छ। कान्ति बाल अस्पताल, काठमाडौंमा उनको निरन्तर उपचार भइरहेको छ, तर चिकित्सकहरूले अब मिर्गौला प्रत्यारोपण नै उनको जीवन बचाउने एकमात्र उपाय भएको बताएका छन्। यो जटिल उपचार प्रक्रिया अत्यन्तै महँगो छ, र ढकाल परिवार, जो आफ्नो जीवन सामान्य तरिकाले जिउँदै आएको छ, यो आर्थिक बोझ धान्न असमर्थ छ।
माननीयज्यू, स्मरण केवल एक बालक होइन, ऊ एक परिवारको आशा, सपना र भविष्य हो। ऊ त्यो हाँसो हो, जसले आफ्नो बाबुआमाको मन रंगिन बनाउँछ। ऊ त्यो सानो आत्मा हो, जसले स्कूलमा साथीहरूसँग खेल्ने, पढ्ने र ठूलो भएर देशको सेवा गर्ने सपना देख्छ। तर आज, उसको यो कोमल मन र निष्कलंक मुस्कानलाई रोगले छोप्दैछ। एक अभिभावकको रूपमा तपाईंलाई यो प्रश्न सोध्न चाहन्छु— यदि स्मरण तपाईंको आफ्नै छोरा भएको भए, के तपाईं उसको जीवन बचाउन हरसम्भव प्रयास गर्नुहुन्नथ्यो? स्मरणलाई तपाईंको आफ्नै सन्तानको रूपमा हेर्नुहोस्, र उसको जीवनमा आशाको उज्यालो फर्काउन एक कदम उठाइदिनुहोस्।
नेपाल सरकार हाम्रो अभिभावक हो। जसरी एक अभिभावकले आफ्ना सन्तानको संकटमा हरसंभव सहयोग गर्छ, त्यसैगरी सरकारले पनि आफ्ना नागरिकको जीवन रक्षाको जिम्मेवारी लिनुपर्छ। आर्थिक स्थिति कमजोर भएकाहरूको पनि बाँच्ने अधिकार छ। स्मरणजस्ता निर्दोष बालबालिकाले केवल आफ्नो परिवारको आर्थिक अवस्थाका कारण जीवन गुमाउनुपर्ने अवस्था आउनुहुँदैन। यो तपाईं र हाम्रो सरकारको दायित्व हो कि प्रत्येक नागरिकको जीवन रक्षा सुनिश्चित होस्।
माननीयज्यू, तपाईंको एक सानो निर्णयले स्मरणको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। नेपाल सरकारले विपन्न नागरिकका लागि सञ्चालन गरेको स्वास्थ्य सहायता कोष, विशेष उपचार सुविधा, वा अन्य कुनै सरकारी योजनामार्फत स्मरणको मिर्गौला प्रत्यारोपणको खर्च व्यवस्थापन गर्न सकिन्छ। यो सहयोगले न केवल स्मरणको जीवन बच्नेछ, बरु हजारौँ स्मरणहरूको लागि आशाको सन्देश प्रवाह हुनेछ।
म तपाईंलाई हृदयदेखि अनुरोध गर्दछु— स्मरणको उपचारमा तत्काल सहयोग पुर्याउन पहल गरिदिनुहोस्। तपाईंको यो कदमले एक परिवारको आँसु पुछिनेछ, एक बालकको हाँसो फर्किनेछ, र नेपाल सरकारप्रति हरेक नागरिकको विश्वास अझ गहिरो हुनेछ। यो संवेदनशील घडीमा तपाईंको अभिभावकीय भूमिका स्मरणको जीवन रक्षाको लागि निर्णायक हुनेछ।
प्रतिकृया दिनुहोस