ब्लग

प्रधानमन्त्री ओलीको झोला !

नेपालको राजनीतिक परिदृश्यमा ‘झोला’ शब्द अब केवल एउटा वस्तुको सङ्केत मात्र होइन, बरु एउटा संस्कृति, प्रवृत्ति र चरित्रको प्रतीक बनिसकेको छ। साहित्यमा झोला सिर्जनाको सानो बस्ता हो, तर राजनीतिमा यो शक्ति प्रदर्शन, अवसरवाद र पाखण्डको पर्याय बनेको छ। आजको नेपालमा ‘झोले’ भन्नासाथ हामी सम्झन्छौँ ती कार्यकर्ताहरू, जसले नेताको झोला मात्र होइन, सिंगो पार्टीको भ्रष्टाचार, ढोंग र असफलताको भारी पनि काँधमा बोके। यी झोलाधारीहरूले आफ्नो जीवन, सपना र भविष्यलाई नेतृत्वको नारा र झोलामुनि थिच्दै देशको भविष्यलाई समेत जोखिममा पारेका छन्।

राजनीतिक भाषामा ‘झोले’ त्यो वर्ग हो, जसले कहिल्यै प्रश्न उठाउँदैन। नेताको हरेक निर्णय—चाहे त्यो जति नै अविवेकपूर्ण किन नहोस्—लाई ‘जय कमरेड!’ वा ‘जिन्दावाद!’ भन्दै समर्थन गर्ने यो समूहले आफ्नो बुद्धि र विवेकलाई नेतृत्वको चाकरीमा सुम्पिएको छ। तर समय बदलिएको छ। ती झोले कार्यकर्ताहरूको झोला अब च्यातिएको छ। कुनै समय सडकमा नारा लगाउने, झण्डा बोकेर हिँड्नेहरू आज तितरबितर भएका छन्। कोही दक्षिण कोरियाको निर्माणस्थलमा पसिना बगाउँदै छन्, कोही जापानको रेस्टुरेन्टमा भाँडा माझ्दै छन्, कोही कतारको तातो सडकमा श्रम गरिरहेका छन्। उनीहरूको झोलामा अब पार्टीको पर्चा, नारा वा नेताको भाषण छैन। त्यहाँ छ त केवल चाउचाउ, औषधि र परिवारलाई पठाउनुपर्ने रेमिट्यान्सको चिन्ता। सडक सुनसान छ, किनभने ती झोलाधारीहरू अब आफ्नो पेट र परिवारको भविष्यप्रति जिम्मेवार बन्न बाध्य छन्।

यता, राजधानीको अर्को कुनामा प्रधानमन्त्री आफूलाई ‘सर्टिफाइड झोले’ घोषणा गर्दै मञ्चमा उभिएर भाषण ठोक्छन्। तर त्यो झोलामा के छ? यदि त्यसलाई खोलेर हेर्ने हो भने, त्यहाँ देशको समृद्धिको सपना होइन, बदनामी र भ्रष्टाचारका कथाहरू भेटिन्छन्। ३३ किलो सुन तस्करी, भूटानी शरणार्थी घोटाला, सहकारी ठगी, ओम्नी मेडिकल सप्लाई काण्ड, यति-हिमालयन सिण्डिकेट, गिरिजाबन्धु जग्गा प्रकरण, जीभीएन हाइड्रो सौदाबाजी, सांसदहरूको सिफारिसमा मल आपूर्तिको कालोबजारी, रेकर्ड स्तरमा बजेट फ्रिज, र जनतालाई सास्ती दिने महँगीको भयावह उकालो यी सबै काण्डहरू एउटै झोलामा अटेका छन्। प्रधानमन्त्रीले ‘म झोले हुँ’ भन्दा यो केवल आत्मव्यङ्ग्य होइन, सिंगो जनताको बुद्धि र विवेकमाथिको ठाडो प्रहार हो। यो घोषणा एउटा यस्तो नाटक हो, जसले सत्ताको दुरुपयोग र भ्रष्टाचारलाई सामान्यीकरण गर्ने प्रयास गर्छ।

तर अब ती पुराना झोले कार्यकर्ताहरूले पार्टीप्रति निष्ठाभन्दा पहिले आफ्नो पेट र परिवारप्रति जिम्मेवारी बुझ्न थालेका छन्। कुनै समय नाराका लागि घाँटी फुटाउनेहरू अब विदेशी भूमिमा खुट्टा घिसार्दै छन्। उनीहरूको मोबाइलमा अब पार्टीको लोगो वा नेताको फोटो होइन, बरु ‘सेन्ड मनी’ एप, विदेशी मुद्राको विनिमय दर र रेमिट्यान्सको हिसाबकिताब छ। आन्दोलनको झोला अब बोकिँदैन, बरु जीवन धान्नको झोला बोकेर हिँड्नुपरेको छ। सडकमा अब न त नेताले कार्यकर्ता बोकेका छन्, न त नाराले सहर भरिएको छ। बाँकी छ त केवल प्रधानमन्त्रीको छटपटी र रुवाबासी।

प्रधानमन्त्री भन्छन्, झोलेहरूको समर्थन नहुँदा सरकार कमजोर भएको छ। तर प्रश्न उठ्छ कसका लागि र कुन उद्देश्यका लागि त्यो समर्थन? झोलामा जनताको हित होइन, आफ्नै स्वार्थका सामग्री राख्नेहरूलाई समर्थन दिन अब कार्यकर्ताहरू तयार छैनन्। आजको दिनमा पार्टीका भेलाहरू मेला र फेसन शोमा परिणत भएका छन्। झोला फेरिएका छन्—Louis Vuitton, Puma, वा थाप्लोको स्थानीय ब्रान्डका झोलाले अब नेताहरूको ढोंग र सत्ताको खेल प्रदर्शन गर्छन्। आन्दोलनको झोला अब फेसनको प्रदर्शनी बनेको छ।

नेताहरू गर्वका साथ भन्छन्, “हामीले परिवर्तन ल्यायौँ।” हो, परिवर्तन त ल्याए तर त्यो परिवर्तन जनताका लागि होइन, आफ्ना परिवार, कम्पनी, गुट, दलाल र सत्ताको आडमा टिकेका व्यापारीहरूका लागि। आज झोलाको बास्केटमा झूट, भ्रष्टाचार र सत्ताको खेल मात्र बाँकी छ। राजनीति अब झोलामा साटिएको छ। नेताहरूले पार्टीलाई अब वाक्यमा होइन, पर्स र ठेक्काको झोलामा राख्न थालेका छन्।

सबैभन्दा पीडादायी पक्ष के हो भने, यो यथार्थलाई जनताले प्रष्टसँग बुझिसकेका छन्, तर पनि उनीहरू मौन छन्। जनताको विवेकको घडी त जागिसकेको छ, तर प्रतिरोधको आवाज अझै कुर्दैछ। प्रश्न यो हो के जनता अझै पनि यिनै झोलेहरूका झोला बोक्न बाध्य हुनेछन्? कि अब ती झोलाहरूको भारी उठाएर प्रश्न गर्नेछन्?

हिजो झोलेहरू ‘क्रान्ति’को नारा लगाउँथे। आज तिनै झोलेहरू, जब आफैँ घोटालामा मुछिए, ‘क्रान्ति’को नाममा जनताको सहानुभूति खोजिरहेका छन्। तर जनता अब चुप बस्ने पक्षमा छैनन्। समय आएको छ झोला मात्र होइन, त्यसभित्रको सामग्री के छ भनेर हेर्ने। सत्य, जवाफदेहीता र जनतामैत्री शासनका लागि जनताले आवाज उठाउनुपर्ने बेला यही हो। किनभने, अब धेरै भयो झोले नाटक। अब उठ्नुपर्छ झोलाधारी शासनविरुद्ध जनताको विवेकसहितको क्रान्ति।

तपाईँको मत