प्रतिनिधि सभा

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नाेत्तर

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरे बमोजिम आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।  

यस्तै, विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत ६ वटा मन्त्रालयको समूहकृत रूपमा छलफल हुने कार्यसूची छ । 

सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको  जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध कायम गर्दै आएका छन् । माग सम्बोधन नभएसम्म सदनमा अवरोध कायम गर्ने रास्वपाका नेताहरूले बताउँदै आएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत