गाउँ सहर

नागार्जुनका मेयर बस्नेतले ९ करोड २२ लाख घुस खाएको ठहर

काठमाडौं । नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले निलम्बित मेयर बस्नेत र  अर्का प्रतिवादी राजुप्रसाद कँडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा शुक्रबार दोषी ठहर गरेको हो ।

पद्मा कोलोनीका सञ्चालक कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३३ रुपैयाँ घुस लिएको र उक्त घुस प्रतिवादी बस्नेतले शुद्धीकरण गरेको विशेष अदालतलका विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत र व्यापारी कँडेलसहितलाई प्रतिवादी बनाएर १४ पुस २०८१ मा विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो । सोही मुद्दाको किनारा लगाउँदै विशेषले दुबैजनालाई दोषी ठहर गरेको हो । विशेषले सजाय निर्धारणका लागि भने असार १६ गतेलाई पेसी तोकेको छ । घरजग्गा कारोबारी राजुप्रसाद कँडेलबाट घूसबापत रकम लिएर त्यसलाई शुद्धीकरण गरेको अभियोगमा अख्तियारले बस्नेत, पत्नी उर्मिलासहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । विशेषले उर्मिला बस्नेतलाई भने सफाई दिएको छ ।

सार्वजनिक पदको दुरुपयोग गरी बस्नेतले कँडेलबाट लिएको घूसलाई शुद्धीकरण गरी बस्नेतले अन्यत्रै लगानी गरेको विशेषमा अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ । बस्नेत २०७४ र २०७९ गरी दुवै स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयरमा विजयी भएका थिए । कँडेल भने पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक हुन् । मेयर बस्नेतविरुद्ध घूस प्रकरणमा ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ बिगो कायम गरी दायर भएको सोही मितिको मुद्दामा पनि उनी दोषी ठहर भएका हुन् ।

व्यापारी कँडेलबाट लिएको घूस शुद्धीकरण गरेको अभियोगमा अख्तियारले बस्नेतविरुद्ध १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गरेको थियो ।

घूस खुवाउने व्यापारी कँडेलविरुद्ध सम्पत्ति शुद्धीकरण गर्न दुरुत्साहन, मद्दत, सहजीकरणसमेत गरेकामा मतियार कायम गरी बिगो, कैद र जरिवाना मागदाबी गरिएकोमा उनी पनि दोषी ठहर भएका हुन् ।

बस्नेतले नगर प्रमुखको पद दुरुपयोग गरी नागार्जुन नगरपालिकामै कार्यक्षेत्र रहेको घर/जग्गा व्यवसायी पद्मा कोलोनी प्रालि/पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा जगतगुरु कृपालु प्रतिष्ठान नेपालका अध्यक्ष कँडेलबाट घूस/रिसवत लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको/दिन लगाएको, प्रतिष्ठानलाई व्यक्ति तथा संघसंस्थाबाट विदेशी सहायता ७ अर्ब ४८ करोड प्राप्त गर्न सहमति दिए/दिन लगाएको’लगायत अभियोग लगाइएको थियो ।

यसैगरी ‘प्रतिष्ठानले नागार्जुन नगरपालिकाभित्र मन्दिर निर्माण गर्ने भनी जग्गा प्रतिवादी राजुप्रसाद कँडेल तथा निजका कम्पनीहरूलाई उपलब्ध गराउने गरी सम्झौता गरे/गराएकामा सोही सम्झौतासमेत कार्यान्वयन गर्न, गराउन भुलभुलैयामा पारी जग्गाधनीसाग सम्झौता गरी/गराई मन्दिर निर्माणका लागि भनी लिएर जग्गा प्लटिङमा बिक्री गर्ने काममा संलग्न रहेको’ अनुसन्धानबाट खुलेको थियो ।

४७ करोड ७५ लाख रुपैयाँ बजार मूल्य पर्ने जग्गाका लागि पद्म कोलोनीले १८ करोड ९४ लाख १८ हजार ४ सय ४८ रुपैयाँ मात्रै भुक्तानी दिएको र बाँकी रकम मिलेमतोमा मेयर बस्नेत र व्यापारी कँडेलले व्यवस्थापन गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

‘यसबापत बस्नेतले नगर प्रमुखको पद ओहदाको दुरुपयोग गरी उल्लिखित कार्य गर्न, गरिदिएबापत बैंक खातामार्फत २ करोड १५ लाख ७३ हजार ३ सय ९५ रुपैयाँ र ६ करोड ८२ लाख मूल्य बराबरको जग्गा र वैवाहिक भोज गर्दा लागेको २४ लाख ७२ हजार ६ सय ३७ रुपैयाँ शंकर होटलमा भुक्तानी गर्न लगाएको पुष्टि हुन आयो ।’ विशेषमा दायर अभियोगपत्रमा भनिएको थियो ।

मेयर बस्नेतले घूसबापत लिएको रकम आफू र पत्नीका खातामा ल्याएर शुद्धीकरण गरेको, जगतगुरु कृपालु प्रतिष्ठान नेपालले निर्माण गर्न लागेको मन्दिरका लागि भनी खरिद गर्न लागेको जग्गासमेत स्थानीयलाई बिक्री गर्न जग्गा बैनाबट्टा गरी रकम लिएको पनि पाइएको थियो । त्यसबापत बस्नेतले आफ्नो बैंक खातामा विभिन्न व्यक्तिबाट ३ करोड ७२ हजार रुपैयाँ लिएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत