दृष्‍टिकोण

इजरायल–इरान युद्धको धुवाँ

इजरायल–इरान युद्ध विराम युद्ध सकिएको हो वा युद्ध सुरु भएको हो यो कुराको निधो समयले बताउने छ । इरानले अमेरिकी सैनिक आधार शिविर अल–उदेइद कतारमा सूचना दिएर आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे । युद्ध जुन १३ मा इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको थियो । निहुँचाहिँ अक्टोबर ७, २०२३ देखि इरानले गाजामा हमास, प्यालेस्टाइन, इस्लामिक जिहादलाई, लेबननमा हेजबुल्लाहलाई, यमनमा अनसर–उल–लाह, हाउथिजलाई, इराकमा शिटे मिलिसियालाई समर्थन गर्नु थियो ।

हमासले गाजामा गरेको आक्रमणको प्रतिशोधमा इजरायलले गाजामा ५५ हजार प्यालेस्टाइनी मारिसकेको छ । २२ अरब देशमा अधिकांश इजरायलको पक्षमै देखिएका छन् । सात दसकदेखि अमेरिकाले इजरायललाई सघाइरहेको छ । इजरायल अघोषित आणविक हतियार भएको शक्ति राष्ट्र हो उसँग आणविक हतियार रहेको दुनियाँले जानेबुझेका तथ्य छन् । यस्तो परिस्थितिमा इरान पनि आणविक शक्ति राष्ट्र बन्न प्रयासरत रह्यो यही कुरा अमेरिकालाई चित्त बुझेको थिएन र इजरायलको बचावको बहानामा अमेरिका इरानमा आक्रमणमा ओर्लियो ।

एकछत्र इजरायलले मध्यपूर्वमा आक्रमण गरिरहेको उन्मादमा इरानमा पनि आक्रमणमा गर्‍यो । तर इरानको प्रतिरक्षा आक्रमणले इजरायल त्रसित भयो । इरानले इजरायलको गुप्तचर संस्था मोसादको हेडक्वाटरमै प्रहार गर्‍यो, विज्ञानका प्रयोगशाला विजम्यानमा हान्यो, ८,२०० गुप्तचर इकाई आक्रमणमा परे, तेल अविव, नेस जियोना, हैफा, बीरसेवा आदि सहरहरु इरानी निसानामा रहे, मानवीय हताहतको त अहिले हिसाब नै आएको छैन । यही बहानामा इजरायलले अमेरिका गुहार्‍यो र अमेरिकाले इरानका तीन आणविक संरचना स्थल फोर्दो, नातान्ज र इसफाहानमा छवटा बी२ बस्टर बम आक्रमण गर्‍यो । १२ दिनको युद्धपछि अहिले युद्ध विरामको स्थिति छ । अमेरिकाका दुई उद्देश्य पहिलो इरानका आणविक संरचना स्थलमा क्षति पुर्‍याउनु त्यो काममा अमेरिका अहिले सफल भएको छ । दोस्रो इरानका धार्मिक नेता अयातुल्लाह अली खुमेनीलाई सिध्याउने । अमेरिका यही षडयन्त्रको सुराकीमा रहेको छ । अमेरिकाको यही FUD (फियर, अनसर्टेनटी, डाउट) इरानमा देखिएको छ । इरानमा युद्धको धुवाँ अझै पन्छिएको छैन ।

इरानमा अमेरिकी आक्रमणपछि आन्तरिक अन्तरविरोधहरूमा कमि आएको छ । सुधारवादी र यथास्थितिवादीहरू एकै ठाउँमा उभिएका छन् । इरानी जनता एक भएका छन् । बगदाददेखि बेरुतसम्म, यमनदेखि कायरोसम्म इरानको समर्थनमा मानिसहरू आवाज उठाइरहेका छन् । ट्रम्पको तेहरान खालि गर आदेशको इरानी जनताले अवज्ञा गरेका छन् । इरानका जनता हामी तेहरानमै छौं, हामी गौरवान्वित छौं, हामीले आत्मसमर्पण गरेनौ । इरानी जनताको जित भएको छ नारा लाइरहेका छन् । जुन २२ मा इरान कम्युनिस्ट पार्टी (मार्क्सवादी, लेनिनवादी, माओवादी) ले एउटा बक्तव्य निकालेको छ । बक्तव्यमा अमेरिकी साम्राज्यवादको नाइके डोनाल्ड ट्रम्पले आणविक हतियारको निहुँमा इरानका सामरिक स्थलहरूमा आक्रमण गरेको छ । यो कार्यले इरानी जनतामात्र होइन विश्वका जनताको स्वास्थ्यमा समस्या पर्न सक्छ ।

बीसौं शताब्दीमा हिरोसिमा र नागासाकीको इतिहास एक्काइसौं शताब्दीमा अमेरिका दोहर्‍याउन षडयन्त्र गरिरहेको छ । यो कामले साम्राज्यवादी अमेरिका, विस्तारवादी इजरायल र मध्य युगीन इरानी शासकलाई विश्व जनताले प्रष्ट चिन्ने अवसर पाएका छन् । इरानी मध्य युगीन शासकले ४६ वर्षदेखि इरानी जनतालाई दमन गरिरहेको इरानी जनताले बुझेका छन् । इरानी जनता यी दुबै उत्पीडनबाट मुक्ति चाहन्छन् । विश्व जनमतले इरानी जनताको आकांक्षामा ऐकेबद्धता जनाउने छन् । हो, इरानी जनताको समर्थनमा विश्व र नेपालका जनता पनि ऐकेबद्धता जनाइरहेका छन् ।

तपाईँको मत