एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाउने प्रस्ताव
- २ श्रावण शुक्रबार, २०८२ | ०६:५९:०० मा प्रकाशित

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)ले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने भएको छ ।
बिहीबार केन्द्रीय कार्यालय च्यासलमा १० घण्टा बसेको सचिवालय बैठकले विधानमा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो ।
उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनको प्रस्तावमा उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव गरेका थिए । पार्टीको मध्यरातसम्म चलेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै, पौडेलले पेस गरेको संशोधन प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने प्रस्ताव गरिएको छ । १०औं महाधिवेशन अघि भएको विधान अधिवेशनबाट यो पद सिर्जना गरिएको थियो । हाल एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । पोखरेल लगायतका नेताहरूले वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्तावमा असहमति जनाएका छन् । यस्तै, उपाध्यक्ष पौडेलले विद्यमान १९ पदाधिकारी संख्या घटाएर ११ राख्ने प्रस्ताव गरेका थिए ।
पौडेलको प्रस्ताव अनुसार एक अध्यक्ष, ३ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ५ सचिवको प्रस्ताव गरिएको छ । हाल एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिव गरी १९ पदाधिकारी रहने व्यवस्था छ । तर, पदाधिकारी संख्या १५ राख्नेमा सहमति भएको सचिव योगेश भट्टराईले जानकारी दिए । ‘११ बाट बढाएर १५ जना पदाधिकारी राख्ने सहमति भएको छ,’ भट्टराईले भने,‘तर कुन पद राख्ने र थप्ने भन्नेमा छलफल जारी छ ।’
यस्तै उपाध्यक्ष पौडेलले केन्द्रीय समितिलाई घटाउने प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरिएको छ । तर, बैठकले २५१ सदस्य केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । हाल एमालेको ३०१ जनाको केन्द्रीय कमिटी छ ।
अघिल्लो विधान अधिवेशनबाट २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको थियो । चितवनमा भएको १० औं महाधिवेशनमा ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो । यो विषयमा शुक्रबार साउन २ मा बस्ने पोलिटब्युरो र साउन ५ गते बस्ने केन्द्रीय कमिटीमा थप छलफल हुनेछ । एमालेको भदौ २० देखि ललितपुरको गोदावरीको सभा हलमा विधान अधिवेशन हुँदैछ ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्किने विषयले प्रवेश पाएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र विद्या भण्डारीको विषयमा छलफल हुने बताएका छन् । सचिव योगेश भट्टराईले सचिवालय बैठकपछि अध्यक्ष ओली आफैंले विद्या भण्डारीको विषयमा पार्टीभित्र छलफल हुने बताएको जानकारी दिएका छन् । तर, बिहीबारको सचिवालय बैठकमा भने यो विषयमा छलफल भएन । सचिव भट्टराईले भने, ‘यसबारेमा अध्यक्ष कमरेड आफैंले आजको बैठकमा भ्याइएन तर आवश्यक परेमा छलफल हुनेछ भन्नु भएको छ’, उनले भने ।
प्रतिकृया दिनुहोस