गाउँ सहर

दुर्गा प्रसाईको तत्काल रिहाइ गर्न डा. धवलशम्सेर राणाको माग

काठमाडौं । डा. धवलशम्सेर राणाले दुर्गा प्रसाईको तत्काल रिहाइको माग गरेका छन् ।

डा. राणाले जारी गरेको वक्तव्यमा आलोचना, फरक मत र मत–अभिमत लोकतान्त्रिक पद्धतिका आधारस्तम्भ भएको उल्लेख गर्दै नागरिकप्रति सरकारको जवाफदेहिता, प्रजातान्त्रिक सन्तुलन तथा समाजको उन्नति–प्रगतिका लागि विचार एवं अभिव्यक्ति स्वतन्त्रता अपरिहार्य रहेको बताएका छन्। सरकारको आलोचना गर्न नपाइने अवस्था सिर्जना भए लोकतान्त्रिक शासन प्रणालीको मर्ममाथि नै प्रश्न उठ्ने उनको भनाइ छ।

वक्तव्यमा नेपाल विविध आस्था, धर्म, संस्कृति र परम्पराबीचको सद्भाव, सम्मान र सहिष्णुतामा आधारित समाज भएको उल्लेख गर्दै पछिल्ला दिन देशका केही स्थानमा देखिएका आपसी द्वन्द्व, झडप, आगजनी तथा जनधनको क्षतिप्रति चिन्ता व्यक्त गरिएको छ। यस्तो संवेदनशील परिस्थितिमा नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, दिगो शान्तिको वातावरण कायम गर्न तथा सरकारलाई जवाफदेही बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ।

डा. राणाले विश्वव्यापी रूपमा स्थापित मानव अधिकार तथा संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण दुर्गा प्रसाईलाई साउन १७ गते राति उहाँकै निवासबाट पक्राउ गरिएको दाबी गर्दै उक्त कार्यको निन्दा गर्नुभएको छ। साथै, उहाँले प्रसाईको तत्काल रिहाइका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

गाउँ सहर संवाददाता

तपाईँको मत