नेशनल प्याब्सन कास्कीको हाँजिरीजवाफ प्रतियोगिता
- २४ श्रावण आइतबार, २०८३ | २२:२६:०० मा प्रकाशित
पोखरा । नेशनल प्याब्सन कास्कीको २०औँ कास्की जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। नेशनल प्याब्सनमा आबद्ध विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगिता तीन तहमा तहगत रुपमा सम्पन्न भएको हो ।
नेशनल प्याब्सन कास्कीका उपाध्यक्ष विकल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वका रुपमा नेशनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराइले प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो ज्ञान, विधागत तर्कशक्ति, स्मरणशक्ति तथा प्रस्तुतीकरण क्षमता प्रदर्शन गरेका वताए ।
कार्यक्रममा केन्द्रिय सहकोषाध्यक्ष शिबदत्त तिवारीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी कास्कीका विद्यालय, विद्यार्थी, शिक्षक, सहजकर्ता तथा नेशनल प्याब्सनका पदाधिकारीप्रति धन्यवाद ज्ञापन गर्दै विद्यार्थी र शिक्षक केन्द्रित कार्यक्रमहरुमा भविष्यमा पनि केन्द्रले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
नेशनल प्याब्सन गण्डकी प्रदेशका उपाध्यक्ष चेतनाथ भण्डारी, सदस्य भोजराज अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगितामा हाजिरीजवाफ विशेषज्ञका रूपमा केन्द्रबाट आएका रञ्जित गुप्ताले तथा जिल्लाबाट त्रिविक्रम दाहाल, विचित्र न्यौपाने र सन्दिप ढुङ्गानालले सहजीकरण गरेका थिए। उनीहरूको सहजीकरणमा प्रतियोगिता व्यवस्थित र प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गरिएको थियो।
प्रतियोगिता अन्तर्गत कक्षा १–५ तर्फ लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल प्रथम भएको छ। मर्निङ ग्लोरी एकेडेमी द्वितीय, एकता आवासीय विद्यालय तृतीय र सिद्धिविनायक बोर्डिङ स्कुल चतुर्थ भए ।
त्यस्तै कक्षा ६–८ तर्फ रिलायन्स पब्लिक स्कुल प्रथम भएको छ। लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल द्वितीय, एकता आवासीय विद्यालय तृतीय तथा विश्वज्योति इङ्लिस स्कुल चतुर्थ भए ।
कक्षा ९–१० तर्फ मर्निङ ग्लोरी एकेडेमी प्रथम भयो भने लिटल फ्लावर द्वितीय, रिलायन्स पब्लिक स्कुल तृतीय तथा पिनाकल एकेडेमीले चतुर्थ स्थान हाँसिल गरे।
प्रतियोगितामा उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यालयहरूलाई पुरस्कार तथा ट्रफी प्रदान गरिएको थियो। विद्यार्थीहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्दै उनीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विषयका प्रश्नहरू समावेश गरी छुट्टाछुट्टै राउण्डमा सञ्चालित थियो।
नेशनल प्याब्सन कास्कीले विद्यालय तहमा अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पु¥याउँदै आएको र यस्ता बौद्धिक तथा सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै जाने नेशनल प्याब्सन कास्कीका अतिरिक्त क्रियाकलाप प्रमुख एवं कोषाध्यक्ष कमल थापाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस