साउनको अन्तिम सोमबार: बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा
- २५ श्रावण सोमबार, २०८३ | ०७:५४:०० मा प्रकाशित
काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा जम्मा भएका छन् ।
प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजन स्नान गरी शुद्ध कपडा लगाएर जल पशुपतिनाथ मन्दिरमा चढाउने गर्छन् ।
आइतबारको बोलबम यात्राको आयोजना बोलबम काँरिया सङ्घ र सनातन युवा मञ्च नेपाललगायत संस्थाले गरेका हुन् ।
बोलबमका लागि भक्तजन आइतबार राति नै सुन्दरीजल आएर स्नानलगायत नित्यकर्म गरी जल लगेर पशुपतिनाथ मन्दिरमा चढाउने गर्छन् । बोलबम यात्रामा करिब १० हजार बढी भक्तजनको उपस्थिति रहेको प्रहरी प्रभाग सुन्दरीजलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नवीनविक्रम थापाले राससलाई जानकारी दिए ।
राति १२ः०० बजेसम्म भजनकीर्तन गरी बस्ने भक्तजनले त्यसपछि भने स्नान गरी जल बोकेर खाली गोडा सुन्दरीजलबाट पशुपतिनाथसम्मको यात्रा गरी आराध्यदेव भगवान् श्री पशुपतिनाथलाई जल चढाउने गर्छन् ।
पशुपतिनाथमा बोलबम यात्रीका लागि जल चढाउन उत्तरतर्फको ढोकाको व्यवस्था गरिएको छ । भक्तजन बासुकी हुँदै उत्तरढोकाबाट जल चढाउने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले राससलाई जानकारी दिए ।
साउनको सोमबार पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सहज रूपमा दर्शनका व्यवस्था मिलाउन आज बिहान ३ः०० बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिने उनले बताए ।
प्रतिकृया दिनुहोस