दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गाउँ सहर संवाददाता
- ३१ असोज शनिबार, २०८३ | १९:२४:०० मा प्रकाशित
पोखरा। दक्षिण कोरियाली कलाकार तथा लेखक किम ह्युन किमले रसुवाको उत्तरगया गाउँपालिकाका बाढीपीडितका लागि पाँच हजार किलो चामल सहयोग गरेका छन्।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उत्तरगया गाउँपालिकाका बासिन्दालाई लक्षित गरी ८० वर्षीय कोरियाली नागरिक किमले उक्त सहयोग उपलब्ध गराएका हुन्। उनले कोरियास्थित बुद्धिस्ट एकेडेमी, बुद्धिस्ट रिभ्यु र छेओङयाङ ट्राभल स्कुलका २६ जना सदस्यसँग मिलेर पाँच लाख रुपैयाँ जुटाएका थिए।
परिचय एड्भरटाइजिङको संयोजन तथा उत्तरगया गाउँपालिकाको सहजीकरणमा २५ किलोका दरले दुई सय बोरा उच्च गुणस्तरको चामल बाढीपीडितलाई वितरण गरिने जनाइएको छ।
किमले आफ्ना पुर्खाले करिब ७५ वर्षअघि कोरियाली युद्धका कठिन दिनमा नेपालबाट प्राप्त गरेको चामल सहयोगको गुण अझै सम्झिरहेको बताए। त्यसबेला साथीहरूले कफी पिउने खर्च बचाएर रकम जुटाई नेपालप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले यो सहयोग गरिएको उनको भनाइ छ।
विगत ११ वर्षदेखि भिजिट भिसामा नेपाल आउजाउ गर्दै आएका किमले नेपाललाई आफ्नो दोस्रो घर मान्दै आएका छन्। बाढीको खबर पाउनेबित्तिकै अघिल्लो वर्ष रसुवा हुँदै कैलाश मानसरोवर पुगेको क्षण सम्झँदै आफू सहयोग जुटाउन सक्रिय भएको उनले बताए।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले ८० वर्षको उमेरमा समेत दक्षिण कोरियाबाट नेपाल आएर बाढीपीडितको सेवामा समय खर्चिने कलाकार किम र उनको टोलीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे। राहत अपर्याप्त भइरहेको अवस्थामा प्राप्त सहयोगले पीडितलाई ठूलो राहत पुग्ने विश्वास उनले व्यक्त गरे।
कलाकार किमले पनि कठिन समयमा बाढीपीडित नागरिकलाई सहयोग गर्न पाउँदा गाउँपालिका अध्यक्ष माधव अर्यालप्रति आभार व्यक्त गरे।
परिचय एड्भरटाइजिङका प्रबन्ध निर्देशक शोभित बस्यालले मानवीय भावना भएका व्यक्तिहरूको सहयोगलाई सम्मान गर्दै लक्षित वर्गसम्म राहत पुर्याउन समन्वय गर्नु संस्थाको सामाजिक दायित्व भएको बताए।
सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धका क्रममा खाद्यान्न संकट झेलेको कोरियालाई नेपालले मानवीय नाताले चामल पठाएको कथाले किमको बाल्यकालदेखि नै भावनात्मक प्रभाव पारेको थियो। त्यही ऐतिहासिक सहयोगप्रतिको कृतज्ञता र आत्मीयताको जीवन्त प्रतिबिम्बका रूपमा अहिले नेपालका बाढीपीडितलाई गरिएको यो सहयोगलाई हेरिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
प्रतिकृया दिनुहोस