वातावरण

कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल

काठमाडौँ। नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–३१ मा जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण र जलवायुजन्य हानि–नोक्सानीका विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ।

टर्किएको अन्ताल्यामा कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म हुने सम्मेलनमा नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि त्यसको गम्भीर असर भोगिरहेको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रका अनुसार नेपालले हिमाली क्षेत्रको बढ्दो जोखिम, जलवायु अनुकूलन र प्रभावित समुदायका समस्यालाई प्रभावकारी रूपमा उठाउने तयारी गरेको छ। सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने तयारी छ।

नेपालले भोटेकोशीलगायत क्षेत्रमा भएका विपद्का घटनासहित जलवायु परिवर्तनका असर तस्बिर, भिडियो र अन्तरक्रियामार्फत प्रस्तुत गर्न सम्मेलनस्थलमा प्याभिलियनसमेत स्थापना गर्नेछ।

जलवायु विज्ञहरूले भने नेपालले अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तार, हानि–नोक्सानीसम्बन्धी कोषबाट शीघ्र सहायता र कार्बन व्यापारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। जलवायु वित्त परिचालन गर्दा ऋणको भार बढ्न नदिन अनुदान तथा सहुलियतपूर्ण सहयोगमा प्राथमिकता दिनुपर्ने उनीहरूको सुझाव छ।

गाउँ सहर संवाददाता

तपाईँको मत