पत्र-पत्रिकाबाट

‘निजामती सेवा दिवस’का लागि सरकार चिटिक्क परेको ‘कस्मेटिक’ नारा, काम भने अर्कै

  • २१ भदौ आइतबार, २०७७ | ०६:०२:०० मा प्रकाशित

काठमाडौं । प्रत्येक वर्ष २२ भदौमा मनाइने ‘निजामती सेवा दिवस’का लागि सरकार चिटिक्क परेको ‘कस्मेटिक’ नारा तय गर्छ । काम भने अर्कै हुने गरेको छ ।

२०७७ को नारा ‘स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन’ तय गरिएको छ । यो नारा राजनीतिक नभई प्रशासनिक नेतृत्वबाट तय गरिँदै आएको छ । आफैंद्वारा तय नारा व्यवहारमा उतार्न भने प्रशासक असफल देखिएका छन् ।
दिवस मनाउन थालिएको १७ वर्ष भयो । यस अवधिमा सरकारले सेवाप्रवाह, सुशासन र समृद्धिका नारा लगाउन भने छोडेको छैन । सेवाप्रवाह झनै कमजोर हुँदै गइरहेको छ ।

‘सुशासन’ नारामै सीमित छ । ‘सेवाप्रवाह र सुशासन’ हात्तीको देखाउने ‘दाँतजस्तै बनिदिँदा समृद्धि यात्रा झनै टाढिँदै’ गएको प्रशासनका जानकारको विश्लेषण छ ।

सुशासनको नारा लगाउन नथाक्ने निजामती प्रशासनमा आबद्ध सयौं कर्मचारी बर्सेनि ‘घुस प्रकरण’मा पक्राउ परिरहेका छन् ।

गत वर्ष ‘सक्षम निजामती प्रशासन, विकास, समृद्धि र सुशासन’ नारा लगाइयो । तर, सोही वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सयभन्दा बढी कर्मचारीलाई भ्रष्टाचारमा संलग्न भएबापत पक्राउ ग-यो ।

‘सक्षम’ भनिए पनि यतिखेर प्रशासन संयन्त्र इतिहासमै अत्यन्त कमजोर र निम्छरो बन्न पुगेको प्रशासनविद्को निष्कर्ष छ ।
२२ भदौ २०१३ मा पहिलोपटक निजामती सेवा ऐन जारी भएको सम्झनामा दिवस मनाइँदै आएको हो ।

२०६१ सालदेखि औपचारिक रूपमै निजामती सेवा दिवस मनाउँदा ‘सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता’ नारा तय गरियो । प्रायः हरेक वर्ष तय गरिएका नारामा ‘सेवाप्रवाह, जनसेवा, सुशासन, विकास र समृद्धि’ शब्द आकर्षक तथा ‘कस्मेटिक’ लाग्छन् ।

दिवस मनाइरहँदा नारा घोक्ने सरकारी निकाय र कर्मचारी संयन्त्रले काम कर्तव्य त्यसअनुसार बनाउन नसक्दा नागरिकस्तरमा ‘कर्मचारीतन्त्र’प्रति अझै पनि विश्वास जाग्न सकेको छैन ।राजधानीमा समाचार छ ।

तपाईँको मत