कला

“अभागी यात्री”

[प्रत्येक साल मकर संक्रान्तिका दिन उनैको याद आउँछ]

मुस्कान उसको ओठमा ल्याउन लाख प्रयास गरेँ तर पनि म सधैँ असफल बनेँ। उनलाई पछ्याउँदै माई मेला गएको आज पनि याद ताजा छ। उनको त्यो एक छ्डके हेराईले म घायल प्रेमी झैँ भएको थिएँ। प्रत्येक साल मकर संक्रान्तिका दिन उनैको याद आउँछ। 

स्मृतिका पानामा फर्किएर फेरि जान इच्छा थिएन तर पनि यो मन नमानेर जोड दबाब दिनेगर्छ मेरो मस्तिष्कलाई। म जाउँ त कता जाउँ मन बसमा नभएपछि दिमागको उपयोग हुँदोरहेछ। बार बार सम्झाउने मेरा अतितका पलहरुलाई। यहि दिन यहि समय तर बार फरक, र साल फरक मात्र। धुमल्लिएर आउँछ कहिले काहीँ स्मृतिमा झझल्को। यस्तो लाग्छ स्थिर पोखरीको पानीमा जसरी कसैले ढुङ्गा हालेर तरङ्ग उत्पन्न गराउँदै धुमल्लाउन खोजेको हुन्छ त्यसरीनै मेरो उनीप्रतिका यादहरु तरङ्गित हुँदै धुमल्लिँदैछ।

आज भन्दा करिब १०-११ वर्ष अगाडिको कार्तिक महिनाको कुरा हो। म बिराटनगरबाट घरतर्फ फर्किँदै थिएँ। ईटहरी आईपुग्दा गाडीमा भिड कम हुँदै थियो। कन्डक्टर र खलासी मिलेर यात्रु बटुलिरहेका थिए। गाडी स्टार्टमा छाडेर ड्राईभर नजिकैको पान पसलमा चुरोट सल्काउँदै काउन्टरतर्फ गई गफ गर्दै थियो। बसपार्कको भिड अनि कोलाहलले म बाहिरको दृश्य नियाल्दै थिएँ।

"पानी लिने दाजु पानी?" सानो ११-१२ वर्षको केटा पानी बेच्दै मेरो झ्याल पट्टि आईपुग्यो। "अह नखाने.. टाउको हल्लाउँदै मैले ईशारा दिए। उ अर्को झ्याल तर्फ लाग्यो।

"ए.. बदाम..... चना, मटर चटपटे... दाजु चना मटर खाने?" फेरी अर्को भारतीय बिहारी नागरिकको आवाज आयो। व्यापार गर्न यिनिहरुले जानेका छन भन्ने मनमनमा सोच्दै मैले बाहिर बाट गाडी भित्रको दृश्य नियाले। भित्र प्राय सबै सिट भरिएको थियो। मैले सिटमा जापानी झोला राखेको थिए त्यसैले सायद कोहि बस्न आएनन्।

ड्राईभर पनि चुरोट भुईंमा फ्याली खुट्टाले चुरोटको ठुटा निभाउँदै आफ्नो सिटमा आएर बस्यो। (पिप पिप) गाडीमा हर्न मार्दै यात्रुहरुलाई अब गाडी चल्ने संकेत दिँदै थियो। खलासी तँछाड मछाड गर्दै मान्छे खोज्न ब्यस्त थियो।

"ए बिर्तामोड काकरभिट्टा... ए पूर्व जाने अन्तिम गाडी" खलासी बसको शरीरमा जोड जोडले हातले हान्दै मान्छे डाक्न थाल्यो। म घडी हेर्न थाले। बेलुकाको चार बजेको थियो र अन्य बसहरु पनि धेरै आउँदै थिए पूर्व जान। फेरि उसले यस्तो किन भन्यो? म दोधारमा परे र अन्तिममा अनुमान लाए यो त उसको यात्रु तान्ने पोलिसी रहेछ।

म गाडी बाहिर फेरि नियाल्न थाले। मुख सुक्दै थियो पानी को एउटा बोत्तल किनेको भए हुनेरहेछ नि। तर मैले त्यहा कराएर पानी माग्न सकिन। गाडी पनि विस्तारै दौडियो। "एक्सक्युजमी.. " यो आवाजले मेरो बस बाहिरको ध्यान भङ्ग गराउँदै गाडी भित्र हेर्न पुगे। "हजुर" म सानो स्वरमा आवाज दिँदो भए।

"यो सिट खाली हो? यो ब्याग हटाईदिनुस न प्लिज" माधुर्य बोलिले म उनलाई "हवस" पनि भन्न नसकी मेरो जापनिज ब्याग आफ्नो काखमा राख्दो भएँ।

"थेन्क यु।" मलिन आवाजको गुञ्जन साथ उ आफ्नो आँखा अगाडि आएको कपाल कान पछाडि लग्दै थचक्क सिटमा बसी।

म बाहिर नजर डुलाउन चेस्टा गर्दै थिएँ तर ध्यान उ तर्फ नै जान्थ्यो। एक्कासी उसको हातमा मेरो आँखा पुग्यो। ४:१५ उसले लगाएकी क्वार्ट्ज घडीले समय देखाउँदै थियो। मैले मेरो घडी नियालेँ। मेरो राडो घडीमा ४:२० समय देखाएकाले म उ भन्दा समयमा केही अघि रहेछु भन्ने विचार पलायो।

रातो टिशर्ट अनि कालो पाईन्टमा उ मेरो नजिकै बसिरहँदा मैले लगाएको रात शर्टमा म्याचिङ्ग भएको पाएँ। कालो गोल्ड स्टारको मेरो जुत्तामा उसले पनि कालो त्यही मोडलको जुत्ता लगाएको संयोग देख्दा हामीबीच केही त कनेक्सन (लगाब) छ जस्तो मनले मान्दै थियो। हामी दमक आईपुगेका थियौँ।

उ आफ्नो ब्याग हेर्दै किनहो उ मलाई पटक पटक हेर्दै थिई। केही भन्न खोजे जस्तो चिन्तित उसको भाव थियो। म बोल्न चाहँदै थिए तर उ आफैँ पहिला बोलि "दाइ तपाईं कहाँ सम्म जानुहुने?"

"म बिर्तामोड" सजिलै मैले उत्तर दिँदै प्रतिप्रश्न गरे "अनि तपाईं नि?" 

"म सुरुङ्गा। यो गाडी लोकल त हैन नि?" उ पुन प्रश्न गरी।

"हैन। किन बैनी? केही तनाबमा हुन्हुन्छ हो?" आश्वासन साथ म सान्त्वना दिएँ।

"हेर्नू न रात पर्न लाग्यो दिन छोटा छन्। आज घरमा गाली खाने परेँ। त्यहीमाथि मसंग पैसा रहेनछ यो बसको भाडा तिर्न। आज साथीहरु संगको गेट टुगेदर थियो। हिँड्ने बेलामा एउटिलाइ माग्छु भनेको बिर्सेँछु। के हजुर मलाई हेल्प गर्नु हुन्छ?"

म दोधार सोचमा परेँ। यती राम्री केटीले पक्कै पनि ढाँटिन होला। "हुन्छ बहिनी" म पुनः आश्वासन दिएँ। आखिर डुब्दा पनि त्यही १०० रुपैयाँ न हो भन्दै आफैँलाई आश्वस्त पारेँ।

"दाई म हजुरको पैसा फिर्ता गरिदिन्छु कुनै दिन भेट हुँदा" उसले यसो भनीरहँदा म भने त्यो दिन कहिले न आउनेमा विश्वस्त थिएँ। किनकी उ त एक दिनको यात्रु थिई।

उ मसंग त्यसपछि निकै गफ गर्दै आई। कन्डक्टर नजिकै आएपछि उसले म तर्फ ईशारा गरि मैले बस भाडा दिएपछी कन्डक्टर गयो। हामी माईधार आइपुग्यौ। बस खचाखच भरिएकोले खलासी "कोहि सुरुङ्गा झर्ने भए अगाडी आउनु" भन्दै बोलाउदै थियो। उ मलाई पुन भेट्ने आश्वासन दिदै बिदा मागी अगाडि ढोकामा गएर छेउमा उबिदो भै।

बस बिस्तारै बस स्टेण्डमा रोकियो। उ ओर्लिएर म भएको झ्याल तर्फ हेर्दै फिस्स हाँसेर हात हल्लाई बिदा मागी। म त भुसुक्कै बिर्सेँछु उसको नाम सोध्न तर केवल उसको बोली र अनुहार आफ्नो मस्तिष्कमा कैद गर्न सफल भएँछु। उसको जादुमय बोलीले मलाई उसकाे फ्यान बनाएको थियो। म त उसलाई भेट्न नपाउनेमा आफ्नो दुर्भाग्य सम्झिँदो भएँ।

उसङ्गको बिछोडपछि साथीहरुसङ्ग मैले कुरा गर्नेगर्थेँ। किनकी हाम्रो कलेज टाईममा कुनै केटी बसमा आफ्नो सिटको छेउमा आई बस्नु ठूलो भाग्यको कुरा हुनेगर्थ्यो। पुसले बिदा माग्दै थियो र विस्तारै जाडो बढेसङ्गै मकर स्नान गरेर माघ महिनाको आगमन हुँदै थियो।

हामी पनि केही साथी भाई मकर स्नान गर्न र माई मेलामा रमाईलो गर्न जाने भयौँ। बिहानको ६ बजे घरबाट नुहाउने सामाग्री बोकी हामी कन्काई माईतर्फ होमियौ। बिहान बाक्लो भिड बढ्दै थियो बाटामा। अङ्गुरका झुप्पा जस्तै मान्छेका एक एक हुल माई खोलातर्फ बढ्दै थिए।

हामी पनि त्यही हुल झैँ आफ्नो हुल बनाई मकर स्नान गर्न गएका थियौँ र स्नान गर्‍यौँ। नदिका दुई तटमा स्नान गर्नेको घुइँचो थियो। त्यहा बाट फर्केर हामी माई मेलाको आनन्द लिन थाल्यौँ। डाइस र सेभेन अप बाट खेल्न शुरु भयो। त्यसपछि रोटेपिङ्ग। रोटेपिङ्गमा दुई जना मात्र चढ्यौँ केही साथी नखेल्ने भए।  माथि केही हाईटमा पुगेपछि। मलाई कसैले निकै ध्यान दिएर हेर जस्तो भान भयो।

हाम्रो अगाडी दुई केटीहरु बसेका थिए। 

"दाई मलाई चिन्नु भयो?" ठूलो कोलाहलमा जोडले चिच्याउँदै एउटी केटी मतिर हेर्दै जोडले बोल्दी भै। "अहँ" टाउको हल्लाउँदै मैले ईसारा गरेँ। "म क्या तपाईंको एक सय रुपैयाँको ऋणी" मुसुक्क हाँस्दै उ जोडले उत्तर दिई।

रोटेपिङ्गमा सधैँ बाहिर हेर्दा डरलाग्ने मलाई उसको बोलीले सबै याद ताजा बनायो। त्यस दिन डर दिमागमा आएन। मैले नसोचेको मान्छे आज मेरो अगाडि थिइ। म संयोगले त्यहाँ पुगेको थिएँ तर प्रकृतिले हामीलाई पुनः मिलन गराएको आभास पाएँ। मेरो मुहारमा एक्कासी चमक आयो। "अहो। व्हाट अ सरप्राईज। एम आई इन ड्रीम?"  म यसरी बरबराउन पुगेँछु।

रोटेपिङ्ग खेलेपछि शान्त ठाउँ खोज्दै हामी एकछिन साथमा गफ गर्‍यौँ। केही पुराना मिठा कुरा उसङ्ग गर्दो भएँ।

"दाई यो लिनुस तपाईंको पैसा।" १०० को नोट हातमा देखाउँदै उ म प्रति कृतज्ञ देखिन्थी। "पर्दैन बैनी। मान्छेलाई आवश्यकता पर्दा नै हो हामीले सहयोग गर्नुपर्ने। यो दिएर लज्जित नबनाउनु होला।" म नाई भन्दै उसको पैसा अस्वीकार गर्दो भएँ।

"दाई मैले हजुरको पैसा फिर्ता गर्न पहिले नै खोजेकी थिएँ। तर त्यस दिन नाम नम्बर केही माग्न बिर्सेछु। रिसाउनुहुन्न भने हजुर मलाई आफ्नो डिटेल्स दिनुन। फेसबुकमा पनि एड गरुँला। हुन्न?"

एक प्रकारको मनमा कौतुहुलता समाप्त भए झैँ भयो मेरो पनि। "के खोज्छस कानो आखोँ" भने झैँ मैले बोनसमा उ आफुप्रति पाएको थिएँ। तुरुन्त आफ्नो मोबाईल खोली मैले उसलाई सर्च गर्न लगाए अनि हामी साथी भयौँ। उ पनि असीमित खुसी भएर मलाई पुन धन्यवाद भनी। हामी नियमित बोल्ने बाचा गर्दै उ आफ्नो नाम निरुपा बताउँदै बिदा भै।

त्यस रात उसले मेसेज गरेकी थिइ पहिला। अनि हाम्रो गफ निरन्तर चल्यो। वर्ष दिनसम्म एकदिन पनि निराश नबनी बितायौँ। हरेक पल खास बन्यो। उ रिसाएको कहिले महशुस गर्न परेन।

आज त्यही माई मेलाले गर्दा धेरै याद साथमा लिन पाएको छु। तर अफसोच मैले प्रेम प्रस्ताव राख्न ढिला गर्दा उ आज अर्कै कि भएकी छे। उसले विवाहको कार्ड पठाउँदा म झसङ्ग बनेको थिएँ। म निःशब्द बनी उसको निम्तो स्वीकार्न बाध्य भएँ।

एकदिन उसले मलाई राती मेसेज गरी "तपाईंले एकपटक मेरो भावना बुझ्न खोज्नु भएन। म तपाईंलाई मन पराउँथे तर तपाईंबाट त्यो प्रयास नभएपछि म चुप लागेर यता विवाह गर्न स्वीकार गरेँ। तपाईंकी अभागी यात्री।"

म निःशब्द बनेँ मैले उसको मुस्कान ओठमा ल्याउन अनेकौँ प्रयास गरेँ तर अहिले उसको मुस्कान अर्कैको भएको छ। उ त केवल मेरो स्मृतिमा भएकी छ। मेरो अभागी यात्री।

तपाईँको मत