गाउँ सहर

चन्द्रागिरिमा हिमपात, हिउँ खेल्न जाने हाेइन ?

काठमाडाैं ।  मंगलबार राती देखि नै देशभर पानी परिरहेकाे छ । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको हाे । उच्च पहाडी र हिमाली भेगमा मात्र होइन उपत्यकाकाे डाँडामा समेत हिउँ परेको छ ।

बुधबार बिहान काठमाडौंमा १०.७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । कीर्तिपुरमा ११.४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले पनि काठमाडौंमा निरन्तर वर्षा भइरहेको छ ।

महाशाखाको ताजा विवरणअनुसार दिपालयमा १२, डडेल्धुरामा १२.२ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ५ नेपालगञ्जमा २, जुम्लामा २.६ र घोराहीमा ०.६ मिलिमिटर वर्षा मापन भएको छ ।

पोखरामा ६.५, भैरहवामा १२.६, सिमरामा १३, ओखलढुंगामा ३ र ताप्लेजुङमा १२.३ मिलिमिटर वर्षा भएको छ । धनकुटा र जनकपुरमा क्रमशः २.८ र १.५ मिलिमिटर वर्षा भए पनि विराटनगरमा वर्षा मापन भएको छैन ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा वर्षा हुने छ । बिहीबारबाट मात्र मौसममा सुधार आउने आँकलन गरिएको छ ।

राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ ।

रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिनुभयो । चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिँउ जम्मा भएको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत