राजनीति

राष्ट्रियसभा सदस्य १९ पदका लागि आज निर्वाचन हुँदै

फाइल तस्बिर

काठमाडौं । राष्ट्रियसभा सदस्य १९ पदका लागि आज निर्वाचन हुँदै छ । सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा १९ सिटका लागि मतदान हुँदैछ  । 

मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

आउँदो फागुन २० गते नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो । 

 

आउँदो फागुन २० गते राष्ट्रिय सभाका १९ सांसदको पदावधि समाप्त हुँदैछ । सो रिक्त हुने स्थानमा एमालेका ८, एकीकृत समाजवादीका ४, माओवादी केन्द्रका ४ र काँग्रेसका ३ सांसद रहेका छ । सो रिक्त रहेको स्थानमा प्रदेश १ बाट ३, प्रदेश नम्बर २ बाट २, बागमती प्रदेशबाट २, गण्डकीबाट ३, लुम्बिनीबाट ३, कर्णालीबाट ३ र सुदूरपश्चिम प्रदेशबाट ३ गरी १९ सांसद निर्वाचित हुन लागेका हुन् । 

सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । संघीय संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका उमेदवार चुनावी मैदानमा छन् ।

आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन् ।

निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहनेछन् । 

निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उमेदवार निर्वाचित हुनेछन् ।

प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । 

आयोगले २१ बुँदे स्वास्थ्य मापदण्डहरू तय गरेर निर्वाचन अधिकृतको कार्यालयमा पठाएको छ  । सरकार र सीसीएमसीले तयार गरेको स्वास्थ्य मापदण्डका आधारमा आयोगले स्वास्थ्य मापदण्डहरू तयार गरेको छ । ती स्वास्थ्य मापदण्डहरू पूर्ण रूपमा पालना गरेर मतदान गर्ने तय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

यस्तै निर्वाचन सुरक्षाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिएको छ । उनले भने –‘सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालय मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था मिलाउनका लागि अनुरोध गरिएको छ । जिल्ला निर्वाचन अधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका सम्पूर्ण पदाधिकारीहरू भएर आवश्यकता अनुसार निर्वाचन सुरक्षा बैठक बसेर सुरक्षाको सबै चाँजोपाँजो पनि मिलाइएको छ ।’

गाउँ सहर संवाददाता

तपाईँको मत