राजनीति

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट दिए राजीनामा

काठमाडाैं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट राजीनामा दिएका छन् । 

नयाँ पार्टी खोल्ने तयारीमा रहेका थापाले मंगलबार राप्रपाबाट राजीनामा दिएका हुन् । थापाले हेटौँडाबाटै अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजीनामा पत्र पठाएका हुन् ।

एक विज्ञप्ति जारी गर्दै उनले पार्टीभित्र आफ्नो कुराको सुनवाइ नहुने भएपछि अप्रिय निर्णय लिन बाध्य भएको उल्लेख गरेका छन् ।

‘अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी कियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ’, थापाले भनेका छन् ।

थापाले हिजो मात्रै आफ्नो पक्षको भेला आयोजना गरी स्थानीय चुनावको घोषणासम्म माग सुनवाइ नभए पार्टी छोड्ने सन्देश दिएका थिए ।

मंगलबार हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै थापाले भनेका छन्, ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजबाट म राप्रपाबाट अलग भएको छु ।’

गाउँ सहर संवाददाता

तपाईँको मत