गाउँ सहर

छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडाैं । छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । भक्तपुर र ललितपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

गए राति ललितपुरको बाग्डोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बाँकेका ३० वर्षीय गणेशकुमार थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन अस्पतालमा राति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएकाे छ । मोटरसाइकलमा पछाडि सवार कैलालीका ३० वर्षीय इन्द्र भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

राति करिब साढे १० बजे वाग्मती प्रदेश ०२ ०३० प ९४८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएको महानगरीय प्रहरी परीसर ललितपुरले जानकारी दिएको छ ।

त्यसैगरी, भक्तपुरको च्यामासिंहमा सोमबार बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएकाे छ भने एकजना गम्भीर घाइते भएका छन् ।

मोटरसाइकलमा पछाडि सवार दोलखाका ३४ वर्षीय देवेन्द्र कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।  दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा सोमबारै बेलुका साढे ८ बजे मृत्यु भएको जनाइएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दोलखाकै २७ वर्षीय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ ।

साेमबार बेलुका करिब ८ बजे बा३ख ४७६५ नम्बरको बस र बा६१प ६६१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुवै सवारीसाधन र बस चालक नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त जगातीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत