गाउँ सहर

सपना आचार्यको ‘मलिलो माटो’ उपन्यास लोकार्पण

तिलोत्तमा, रुपन्देही । शनिवार तिलोत्तमा नगरपालिकाको ड्राइभर टोलमा रहेको टुलिप होटलको एक ठूलो हल भरिभराउ थियो । हलमा लगभग २ सय मानिसहरु भेला भएका थिए । सो भेलामा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे, महानायक राजेश हमाल, साहित्यकार डा. रबिन्द्र समिर लगायतका बिशिष्ट पाहुनाहरुको सहभागिता थियो । सो कार्यक्रम प्रजातन्त्र दिवसको दिनमा आयोजना भएपनि कुनै राजनैतिक कार्यक्रम थिएन । त्यो त सोही नगरपालिका बस्ने नव उदयिमान साहित्यकार सपना आचार्यको पहिलो उपन्यास मलिलो माटोको लोकार्पण कार्यक्रम थियो । कार्यक्रमकाे आयोजना गरेको थियो लुम्बिनी बाङ्मय प्रतिष्ठान रुपन्देहीले । 

कार्यक्रमको उद्घोषण र सञ्चालन इन्दिरा अर्यालले गरेकी थिइन भने अध्यक्षता लुम्बिनी बाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा प्रसिद्ध गजलकार पुरुषोत्तम पाण्डेले गरेका थिए । अधिकारकर्मी मिनाक्षी न्यौपाने  र इन्दिरा आचार्यले  उपन्यासमाथी निकै गहकिलो  समिक्षा अनि टिप्पणी गरेका थिए । पहिले स्वागत, आसन ग्रहण, दिप प्रज्वलन, पुस्तक लोकार्पण, टिप्पणी, पेनल डिस्कसन, मन्तब्य हुँदै कार्यक्रम अगाडि बढेको थियो । अन्तमा, प्रमुख अनि बिशिष्ठ अतिथिहरुलाई साथै कार्यक्रम सफल बनाउन सक्रिय रुपमा भूमिका खेल्ने निकै जनालाई सम्मान पनि गरिएको थियो । 

मिनाक्षी न्यौपानेको सुक्ष्म केलाइ अनि इन्दिरा आचार्यको बिस्तृत बर्णनले उपन्यासको वारपार चिरफार गरेको थियो । डा. रबिन्द्र समिरको सबल पक्ष अनि कमजोरीहरुको निफन नाफनले माहौलमा अझ उत्सुकता जगाएको थियो । नेपाली फिल्मी जगत्मा लामो समय पर्यायबाची नाम बनेका सफल नायक राजेश हमालको आवाज मात्र भारी थिएन, उनको जीवनदर्शन र त्यसको बुझाइ झन् गह्रुँगाे थियो । उनलाई राम्ररी बुझ्न कान निकै तिखारेर सुन्नुपर्ने हुन्थ्यो । उनी पर्दामा मात्र हैन, यथार्यमा पनि निकै उचो कदका नै छन् अनि आफ्नो उचाइलाई त्यसरी नै प्रस्तुत गरिरहेका थिए । हराभरा, सफा अनि शुन्दर नगरका एक सफल नगरपिता बासुदेव घिमिरे पनि भावुक बन्दै उपन्यास तिन घन्टाको समय खर्चेर दुइदिन लगाएर भएपनि पढिसकेको बताउँदै थिए । प्रजातन्त्र दिवसको दिन धेरै मानिस अनेक बन्धनहरुबाट स्वतन्त्र भएको र उपन्यासमा पनि एक नारी त्यस्तै अनेक जञ्जाल, बन्धन र बाध्यताहरुबाट मुक्त हुन खोजेको भनेर दाँजेका थिए । 

उपन्यास एक नारीबादी, यथार्थबादी, प्रकृतीवादी, यौनमनोविज्ञान र आत्मसंवादले सिंचित भएको र एक आवाजबिहिन पात्र मन्जुले समग्र नारीहरुको दबिएको अनि गुम्सिएको आवाजलाई प्रतिनिधित्व गर्छ भनेर छलफल गरिएको थियो । पेनल डिस्कसनमा अलि डराएजस्तो अनि कता कता हराएजस्तो देखिएकी लेखिका आफ्ना अनुभवहरु बाँड्न खोजेपनि पहिलो कृति भएर होला अलि खुल्न नसके जस्तो देखिन्थिइन् ।  एक्लै बसेर कलम चलाउन सजिलो होला तर त्यत्रो भिडको अगाडि आफ्ना अनुभव खोल्न र बोल्न उनलाई निकै सकस परेको भान हुन्थ्यो । उपन्यासकी पात्र मन्जु जस्तै । 

नारी र धर्ती दुवै मलिलो माटो हुन् । दुवैमा बिऊ रोपेपछि उम्रन्छ । नयाँ बिऊ उमार्न त्याग र सहनशिलता चाहिन्छ भनेर नारी र धर्तीको स्वभाव र कर्ममा धेरै समानता रहेको कुरा सबै टिप्पणीकारहरुले दोहो¥याउँदै थिए । जति मलिलो माटो भए पनि सृष्टिको प्रकृया कठिन र त्यागपुर्ण भएको हुँदा, निकै सोच बिचार गरेर मात्र मलिलो माटोमा बीऊ हाल्नु पर्ने कुरा समिक्षकहरुको ठम्याई थियो । गलत समय र गलत ठाउँमा परेको बीऊ जति राम्रो नै परे पनि त्यसले नतिजा नकारात्मक ल्याउन सक्छ भन्ने उपन्यासको आसय भएको वक्ताहरुको बिश्लेषण थियो । सानो सोच अनि विचार नपुग्नाले कसरी जीवनको बाटो टेढिन सक्छ अनि पुर्व हिँडेको यात्रा पश्चिमतिर मोडिन सक्छ भन्ने कुरा मूलपात्र मन्जुको जीवनले सिकाउँछ भनेर दुई नारी समिक्षकको एकै मत सुनिएको थियो । त्यसैले, यो उपन्यास आजका कलिला सबै मन्जुहरुलाई पढ्नैपर्ने छ । भावनामा बग्ने मात्र होइन, निकै सोच विचार गरेर मात्र जीवनको यात्रामा निर्णय लिनुपर्छ । नत्र, अझै धेरै चेलीहरुको नियती मन्जुको जस्तै हुनेछ भनेर मिनाक्षी न्यौपानेले सचेत बनाउनु भएको थियो । 

हार्डकभरमा अनि सफ्ट कभरमा गरेर दुई प्रकारका पुस्तकहरु छापिएको यो उपन्यासको हार्डकभरको पुस्तकको मुल्य रु ४५० र सफ्ट कभरको मुल्य रु ३०० रहेको छ । पुस्तक सोल बुक्सले प्रकाशन गरेको हो ।      

गाउँ सहर संवाददाता

तपाईँको मत