अर्थतन्त्र

सुध्रिएन अर्थतन्त्र : यस्ताे छ मुलुककाे पछिल्लाे सात महिनाकाे आर्थिक तथा वित्तीय अवस्था

काठमाडाैं । राष्ट्र बैंकले मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेकाे छ । 

चालु आर्थिक वर्षको ७ महिना अर्थात माघसम्ममा ५ खर्ब ४० अर्ब १२ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अघल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । माघसम्मको तथ्यांक अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो ।

शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुको सात महिनामा गत वर्षको तुलनामा निर्यात ८८.३ प्रतिशतले बढेको जनाएको छ । गत वर्ष, यस अवधिमा अघिल्लो वर्षको तुलनामा निर्यात वृद्धिदर ७.६ प्रतिशत मात्र रहेको थियो ।

शुक्रबार तथ्यांक सार्वजनिक गर्दै राष्ट्र बैंकले आयात पनि ४२.८ प्रतिशले बढेको उल्लेख गरेको छ।

पछिल्लो सात महिनामा एक खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँको निर्यात भएको राष्ट्र बैंकले जनाएको छ । भारततर्फ एक सय १३ प्रतिशत र अन्य मुलुकतर्फ २७.७ प्रतिशतले निर्यात बढेको हो । चीनतर्फ भने १२.४ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकका अनुसार वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो, जुसलगायत वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडिबुटी, तार, तामाको तारलगायत वस्तुको निर्यात घटेको छ ।

रेमिट्यान्स भने ४.९ प्रतिशतले घटेको छ। बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलन ३.६ प्रतिशतले बढेको र निजी क्षेत्रमा कर्जा प्रवाह १२.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत