कला

प्रकाश सपुतकाे ‘पिर’ म्युजिक भिडिओ किन विवादमा ?

काठमाडौं । गीतकाे म्युजिक भिडिओ सार्वजनिक भएकाे २४ घण्टा नबित्दै गायक प्रकाश सपुतको ‘पीर’ बोलको गीत विवादमा परेको छ ।

माओवादी जनयुद्धका पीडितहरुको कथामाथि बनेको उक्त गीतका केही दृश्यलाई लिएर माओवादी केन्द्रका नेताहरुले विरोध जनाएका छन् ।

गीत सार्वजनिक भएपछि वाईसीयल इञ्चार्ज  नेता राम प्रसाद सापकोटा दीपशीखाले माओवादी जनयुद्ध लड्ने महिला छापामारको अभावलाई देह व्यापारमा लगेको जसरी चित्रण हुनु दण्डनीय भएको बताएका छन् ।

उनले भनेका छन्, ‘पीर’ को परिकल्पनाको समग्र पक्ष्यप्रति राजनीतिक कोण नबनाउ तर माओवादी जनयुद्द लड्ने एक महिला छापामारको अभावलाई उनले ‘देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् – त्यो आपत्तिजनक मात्रै होईन दण्डनिय छ ।’

यसैगरी वाईसीयल अध्यक्ष सुमन देवकाेटाले पनि गीत हटाउन चेतावनी दिएका छन् ।

यस्तै अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चासिंहले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भएपनि जनयुद्धमा सहभागी महिलाहरु शरीर वेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी गीतमा दृश्य समावेश गर्नु आपत्तिजनक रहेको बताइन् ।

उनले भनेकी छन्, ‘कार्यकर्ता व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूतजीले युटयुवमा अपलोड गरेको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ । जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाशजी तपाईंलाई बुझाइ रहनुपर्ने हो ?’

उनले उक्त दृश्य हटाउन चेतावनी दिँदै माफी माग्न समेत भनेकी छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत