‘मुलुकको अर्थतन्त्रमा संकट आएको छैन, यसमा राजनीतिकरण गर्ने प्रयास भइरहेको छ’ - अर्थमन्त्री शर्मा
- गाउँ सहर संवाददाता
- २९ चैत मंगलबार, २०७८ | ०४:३८:०० मा प्रकाशित
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा संकट नआएको भन्दै यसमा राजनीति नगर्न आग्रह गरेका छन् ।
मुलुकको बिग्रँदो अर्थतन्त्रलाई लिएर आफ्नो आलोचना भइरहेका बेला मन्त्री शर्माले सोमवार पत्रकार सम्मेलन गरी अर्थतन्त्र सही दिशामै रहेको तर राजनीतिकरण भइरहेको दाबी गरे । उनले भने ‘मुलुकको अर्थतन्त्रमा संकट आएको छैन, यसमा राजनीतीकरण गर्ने प्रयास भइरहेको छ ।’
उनले देशको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन्छ भनेर अफवाह फैलाउनु राष्ट्रघात भएको समेत बताए । ‘चुनावका लागि पैसा हुँदैन, वृद्धभत्ता दिन पैसा पुग्दैन भनिएको छ । त्यस्तो कुनै समस्या छैन,’ शर्माले भने, ‘सबै अफवाह जोडेर श्रीलंका हुन्छ भनिएको छ । श्रीलंका जस्तो हुन्छ भनेर अफवाह फैलाउनु राष्ट्रघात हो । आजै पनि हाम्रो ट्रेजरीमा ६७ अर्ब छ । त्यसैले त्यो अवस्था आउँदैन ।’
अर्थमन्त्री शर्माले गत फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेको र त्यसले ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्ने बताए । नेपालको कुल वैदेशिक ऋण १८ खर्ब रुपैयाँ भएको र चालू आर्थिक वर्ष (आव) मा विदेशी ऋणको साँवाब्याज भुक्तानीका लागि सरकारले ४० अर्ब रुपैयाँ मात्रै खर्च गर्नुपर्ने अवस्था रहेकाले देशको अर्थतन्त्र कुनै पनि कोणबाट श्रीलंकाको जस्तो हुन नसक्ने मन्त्री शर्माको जिकीर छ ।
मन्त्री शर्माका अनुसार गतवर्षको तुलनामा विप्रेषण आप्रवाह केही घटे पनि आगामी दिनमा बढ्ने देखिन्छ । अर्थ मन्त्रालयका अनुसार चालू आवको फागुन मसान्तसम्म ६ खर्ब ३१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ । यो पोहोर सोही अवधिको तुलनामा ४ दशमलव ९ प्रतिशतले कम हो । फागुनमा मात्रै ९१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको भन्दै आगामी दिन सुखद रहने मन्त्री शर्माले दाबी गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस