खेल

हुर्रे ! एसिसी महिला टी–२० च्याम्पियनसीपमा नेपालकाे लगातार दाेस्राे जित

काठमाडौं । मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसीपअन्तर्गत शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।

किनरारा ओभलमा नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२  रन मात्र बनाउन सक्यो ।

कुवेतका लागि प्रियादा मुरालीले ३१ रन जोडिन् । यस्तै मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाईन् । नेपालकी सीता राना मगरले २ तथा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिईन्  ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । 

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै सर्वाधिक ३४ रन जोडिन् । यस्तै इन्दु बर्माले अविजित २८ रन बनाईन । ज्योति पाण्डेले १५ तथा बिन्दु रावलले ११ रन जोडिन् । सीता मगर र काजल श्रेष्ठले ५/५ रन जोडिन् ।

कुवेतकी मारिमा हेदरले २ तथा मार्यम ओमार र खादिजा खालिलले १/१ विकेट लिईन् ।  

यस जितसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ ।  समूह 'बी' मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ ।

अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत