राजनीति

माओवादी बैठकमा अन्तरघातीलाई कारबाहीदेखि पदाधिकारी टुंगो लगाउनुपर्ने मागसम्म

 काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा सुरु बैठकमा अध्यक्ष प्रचण्डले बैठकका कार्यसूचीबारे जानकारी गराएका छन् ।

अध्यक्ष प्रचण्डको अनुसार नयाँ सदस्यहरुको सपथग्रहण, बैठक सन्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी नौ एजेण्डामा छलफल भइरहेकाे छ ।

बैठकमा पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनमा पनि विशेषगरी काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादीको बुझाइ छ ।

बैठकमा रिपोर्टिङ गर्नेहरुले स्थानीय तह निर्वाचनमा धाँधली भएको भन्दै छानविन गर्न पनि माग गरेका छन् ।

माओवादीलाई हराउन गठबन्धनकै दलहरु लागिपरेको भन्दै प्रचण्डले माओवादी बलियो भएको ठाउँमा अन्य दलले खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको बताए ।अब गठबन्धनलाई कसरी अघि लैजाने भनेर छलफल हुने पनि प्रचण्डले बताए ।

बैठकबाट पदाधिकारी टुंगो लगाउनुपर्ने माओवादी नेताहरूकाे माग छ । महासचिवबारे कुनै सहमति नजुटेको र निर्वाचनमा जाने तयारी पनि नभएकाले यही बैठकले पदाधिकारी टुंगो लगाउने सम्भावना भने कम देखिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत