गाउँ सहर

विभिन्न देशका चराहरू नारायणी नदी आसपास

  • १५ पौष शुक्रबार, २०७९ | १२:१९:०० मा प्रकाशित

नवलपुर । जाडो छल्नका लागि विभिन्न देशका चरा यतिबेला नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका छन् ।  जाडो मौसम लागेसँगै  विभिन्न देशका चरा जाडो छल्न नारायणी नदी आसपासको क्षेत्रमा आइपुगेको जलपक्षी गणनाका चितवन पश्चिम सेक्टर संयोजक डिबी चौधरीले बताए । नवलपरासीपूर्व नवलपुरको नारायणी नदीसहित देशका विभिन्न भागमा अहिले विभिन्न देशका चरा जाडो छल्न आइपुगेको उनले बताए ।

विभिन्न देशका चरा जाडो छल्ने यहाँ आइपुगेपछि अहिले नारायणी नदी आसपासका क्षेत्रमा चराको सङ्ख्या धेरै देख्न सकिने संयोजक चौधरीले बताए । यसले गर्दा नारायणी नदी क्षेत्रको वातावरण रमाइलो बनेको उनले बताए । हाँस प्रजातिका जलपक्षी अहिले नारायणी नदी क्षेत्र ढाकिएको उनले बताए । यसले यस क्षेत्र रमणीय बनेको संयोजक चौधरीले बताए । “अहिले धेरैजसो विभिन्न देशका चरा जाडो छल्न यस क्षेत्रमा आइसकेका छन्, नदी आसपासका क्षेत्रमा जलपक्षी प्रजातिका चराले रमणीय बनाएको छ”, चौधरीले भने ।

विशेषगरी पानीमा रहने चरा यहाँ बसाइँसराइ गरी आउने गरेका छन् । साइबेरिया, चीन, बर्मा, मङ्गोलिया, रुस, कोरिया, थाइल्याण्डलगायतका देशबाट आगन्तुक चरा यतिबेला यस क्षेत्रमा आइपुगेको उहाँले बताउनुभयो । यहाँ आउने चरामा हाँस प्रजातिका चरा, जलेवालगायत विभिन्न प्रजातिका चरा हुने गरेका छन् । आन्तरिकरूपमा समेत देशका विभिन्न स्थानबाट  बसाइँसराइ गरी चरा यस क्षेत्रमा आउने गरेको संयोजक चौधरीले बताए । 
चिसो धेरै बढेपछि जाडो छल्न र आहारका लागि विभिन्न देशबाट चरा यस क्षेत्रमा आउने गरेको उनले बताए । “चिसो अत्यधिक बढेपछि क्रमशः यस क्षेत्रमा बसाइँसराइ गरी चरा आउने गर्छन्, जाडो छल्न र आहाराको खोजीका लागि चराहरूले लामो दूरी पार गरी नेपाल आउने गरेका छन्”, चौधरीले भने ।

नारायणी नदी, नवलपुरसहित चितवन राष्ट्रिय निकुञ्जका सिमसार क्षेत्रमा अहिले आगन्तुक चरा सहजै देख्न सकिने उनले बताए । सेप्टेम्बर महिनादेखि डिसेम्बरसम्म चरा आउने क्रम रहने संयोजक चौधरीले बताउनुभयो । जाडो मौसमभरि यहाँ रहने चरा फेब्रुअरीदेखि गर्मी बढ्न थालेपछि आफ्नो पुरानो बासस्थानमा फर्किन सुरु गर्ने उनले बताए । अप्रिलसम्ममा जाडोमा आएका सबै चरा पुनः जहाँबाट आएको हो त्यही देश फर्किने उनले बताए । 

जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराको उपस्थिति बाक्लो हुने गरेकाले चरा गणनाको कार्यक्रमसमेत गर्ने गरिएको छ । नारायणी नदी र आसपासका क्षेत्रमा  जलपंक्षी गणनाको कार्यक्रम अबको केही दिनपछि गरिने उनले बताए । गत वर्ष यसै समयमा गरिएको चरा गणनामा नवलपुरको नारायणी नदी र यसको छेउछाउका क्षेत्रमा ३८ प्रजातिका जलपंक्षी फेला परेको उनले बताए । प्रदूषण, कोलाहल, संरक्षणका ठोस योजना र प्रयास नहुँदा यस क्षेत्रमा चराको सङ्ख्या र प्रजाति भने कमी हुँदै गएको उनको भनाइ छ । 

तपाईँको मत