खेल

नेपाल टी-२० : विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार्सबीच फाइनल खेल हुने

काठमाडाैं । नेपाल टी-२० लिग क्रिकेटको उपाधिका लागि विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै विराटनगरले उपाधिका लागि लुम्बिनीसँगको भेट पक्का गरेको हो । यसअघि जनकपुरलाई नै पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको थियो ।

१६८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको जनकपुरले १९.१ ओभरमा सबै विकेटको क्षतिमा १२८ रन मात्रै बनाएपछि विराटनगरले सहज जित निकालेको हो । जनकपुरका लागि चाडविक वाल्टनले ५१, कप्तान त्रिभोन ग्रिफिथले ३४ र खडक बोहोराले १४ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक पनि बनाउन सकेनन् ।

बलिङतर्फ विराटनगरका केओन जोसेफले तीन, राज नान्नन र नन्दन यादवले समान २-२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो । विराटनगरका लागि गौरान्शु शर्माले ४२, अर्जुन साउदले ३५, राज नान्ननले ३३ र हुसेन तलातले ३१ रन बनाए । बलिङतर्फ जनकपुरका जितेन्द्र मुखियाले दुई विकेट लिए ।

लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत