सडक/यातायात

किन घटेन काठमाडौं उपत्यकामा चल्ने यातायातको भाडादर ?

काठमाडौं । यातायात व्यवस्था विभागले भाडादर घटाएपनि काठमाडौं उपत्यकामै चल्ने यातायातमा भने भाडादर घटेको छैन । डिजेलमा प्रतिलिटर १० रुपियाँ घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यातायातको भाडादर ३.२ प्रतिशतले घटाएको छ ।

प्रदेश सरकारले अहिलेसम्म नयाँ भाडादर कायम गरेको छैन । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपियाँबाट १५५ रुपियाँमा झरेको छ । मूल्य घटेसँगै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीसाधनमा ४.६५ प्रतिशत भाडादर घटेको छ । 

श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले प्रदेश भित्र सञ्चालन हुने यातायातको नयाँ भाडादरको खाका तयार भइसकेर कानुन मन्त्रालयमा पठाइएको र मन्त्रालयबाट राजपत्रमा प्रकाशित भएलगत्तै लागू हुने जनाएको छ ।

भाडादर समायोजन गर्दा सधैँ बढी तिर्नु पर्ने भन्दै नागरिकस्तरबाट गुनासो आएको र १७ रुपियाँ भाडा रहेको अवस्थामा यात्रुसँग सहचालकले २० रुपियाँ लिने गरेका थिए । यस्तै २८ रुपियाँ कायम रहेको ठाउँमा ३० रुपियाँ तिर्नुपरेको थियो । सहचालकले चानचुन रकम नभएको भन्दै बढी रकम लिँदा यात्रुहरू ठगिने गरेका थिए । 

अहिले नयाँ भाडादर तय गर्दा पहिलेको भाडादरमा यात्रुहरू ठगिएको भन्ने गुनासो नआओस् भनेर यातायात व्यवस्था विभागले घटाएको भाडादरलाई आधार बनाएर नयाँ भाडादर कायम गर्न लागेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत