गाउँ सहर

कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर, फेरि बहुमत पुर्‍याउने गरी सत्ता गठबन्धनले थाल्यो तयारी

काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदरको आदेश दिएको हो ।

२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

तर नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए ।

सर्वोच्चले सरकार गठन हुनुपर्ने कारण देखाएर सभामुखले कसैलाई समर्थन गर्न नमिल्ने बताएको छ । सभामुखको त्यस प्रकारको अधिकार नरहेको भन्दै सर्वोच्चले सभामुखको समर्थन संविधानसम्मत नभएको उल्लेख गरेको छ । सर्वोच्चले एमाले नेता कार्कीको चाहना अनुसार उनलाई मुख्यमन्त्री नियुक्तिको परमादेश भने दिन अस्वीकार गरेको छ ।

सरकार गठन संविधानसम्मत नभएको भन्दै सर्वाेच्च अदालतले ७ दिनको समय दिएपछि गठबन्धनका नेताहरूले आन्तरिक छलफल थालेका छन् ।

सर्वाेच्चले दिएको समयसीमाभित्र फेरि सरकार बनाउन बहुमत सांसदको समर्थन लिन प्रयास थालेका हुन् । मुख्यमन्त्री उद्धव थापाले केन्द्रमा शीर्ष नेताहरुले यसबारे निर्णय लिने बताए ।

‘हामीले निर्णय गर्ने भन्दापनि यो गठबन्धनको विषय हो,’ मुख्यमन्त्री थापाले भने, ‘यसबारे शीर्ष नेता बसेर निर्णय गर्नुहुन्छ, पहिला पनि सरकार बनाउन शीर्ष नेताबाटै निर्णय भएको हो ।’

कोशी प्रदेश सभामा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले सर्वाेच्चको फैसलाले समय पर्याप्त पाइएको बताए ।

‘संविधानको धारा १६८ (२) अनुसार कसरी बहुमतसिद्ध गर्न सकिन्छ भनेर वृहत् छलफल गर्छौँ,’ लिम्बुले भने, ‘हाम्रो जोड स्पष्ट बहुमत पुर्‍याउन हुन्छ। त्यसका लागि विभिन्न दलसँग वार्ता र संवाद गर्छौँ ।’

राप्रपाको समेत साथ लिँदा मात्र कोशी प्रदेशमा सरकारलाई प्रष्ट बहुमत पाउन सहज छ ।

अहिले कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी गठबन्धमा छन् । उनीहरुको कूल सांसद ४६ छ ।

यस्तै, एमाले ४० र राप्रपाको ६ सांसदसमेत ४६ हुन्छ ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन पाउनुपर्छ ।

कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न आदेश दिएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न आदेश दिएको हो ।

सभामुखको हस्ताक्षर प्रयोग गरेर प्रदेशसभाको बहुमत देखाई असार २१ मा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका थिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत