पूर्वाधार

यी हुन् काठमाडाैं महानगरकाे १० वटा ‘गौरव’ र २५ वटा ‘स्वर्णिम’ योजना

काठमाडौं । चालु आर्थिक बर्षमा काठमाडौं महानगरपालिकाले १० वटा गौरवका योजना र २५ वटा स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने भएको छ । आम नागरिकसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्धन, वातावरण सुधार र पूर्वाधार कार्यको प्राथमिकता गौरवका योजनामा समेटिएका छन् । यस्तै आम नागरिकको प्रत्यक्ष चासोका रुपमा रहेका निरन्तर सञ्चालन हुने कार्यमध्ये प्राथमिकतामा परेका योजनालाई स्वर्णिम योजनाका रुपमा राखिएको छ । गौरवका योजनाका लागि ३ अर्व ८० करोड रुपैयाँ र स्वर्णिम योजनाका लागि २ अर्व बजेट बिनियोजन गरिएको छ । 

नागरिकका दैनिक जीवन र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनको प्राथमिकीकरण गरेका हौँ । महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी भन्छन्, ‘कतिपय योजना निर्माण सम्पन्न भइसके पछि त्यसको मर्मत गरे मात्र पुग्छ । कतिपय योजनालाई निरन्तर चलाउनु पर्छ । यस्ता प्राथमिक योजनालाई पनि प्राथमिकीकरण गरेर कार्यान्वयनमा लैजान र नतिजालाई सूचकका आधारमा मापन गर्न सकिने प्रणालीका लागि योजना वर्गीकरण गरेका हौँ ।’

यी योजनाहरु १३ औँ नगर सभाको अधिवेशनमा विनियोजन वियेधकमा पेश भएका थिए । छलफलपछि सभाले योजना पारित गरेको हो ।  

गौरवका योजना 

यी योजनाहरु आउँदो ३ बर्षभित्र सम्पन्न हुनेछन् । 

१)    उज्यालो सहर, मेरो महानगर
३ बर्षभित्र सबै सडकमा बत्ती जडान गरिसक्ने लक्ष्यसहितको यस योजनाका लागि ३० करोड रुपैयाँ विनियोजन गरिएको छ । यसमा १०० स्थानमा हाइमास्ट लाइट जडान गरिनेछ । 

२)    महानगरले देख्छ
सबै सडक, गल्ली जस्ता सार्वजनिक स्थानमा ३ बर्षभित्र सीसीटिभी क्यामरा जडान गरिसक्ने यस योजनाका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ । 

३)    धुलोरहित सडक
सबै सडक र पेटीहरुलाई धुलोरहित बनाउने यो योजनाको लक्ष्य हो । यसका लागि १ अर्व बजेट विनियोजन भएको छ । 

४)    रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि
३ बर्षभित्रमा १० हजार व्यक्तिलाई रोजगारमूलक तालिम दिएर उनीहरुको सिप र क्षमता बढाउने, उनीहरुलाई आय आर्जन र रोजगारी सिर्जनामा आवद्ध गराउने यसको लक्ष्य हो । यस कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

५)    मेरो रहर, सुन्दर र हरित सहर
पार्क र आइल्याण्ड निर्माण तथा मर्मत गर्ने, हरियाली प्रवर्धनका लागि विरुवा रोप्ने यसअन्तर्गतका क्रियाकलाप हुनेछन् । यसका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

६)    संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन 
मूर्त अमूर्त कला, संस्कृति र सम्पदाको पुनर्जीवन र पर्यटन प्रवर्धनका लागि ३ बर्षसम्म विशेष कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि हरेक बर्ष ५० करोड रुपैयाँ खर्च गरिनेछ । 

७)    सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा
स्वास्थ्य क्लिनिकलाई स्वास्थ्य प्रवर्धन केन्द्र रुपमा रुपान्तरण तथा नभएका स्थानमा स्थापना गरेर महानगरबासीलाई सहज, सरल स्वास्थ्य सेवा प्रवाह गर्न यस योजनाअन्तर्गत कार्यक्रम सञ्चालन हुनेछन् । यसका लागि ३५ करोड रुपैयाँ विनियोजन भएको छ । 

८)    सबैको चाहना, ढुङ्गेधारा, हिटी र पोखरीको पुनस्र्थापना
जल सम्पदासँग जोडिएका महानगरभित्रका ढुङ्गेधारा, हिटी र पोखरी जस्ता ५० वटा सम्पदा पुनस्र्थापना हुनेछन् । यसका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ । 
 
९)    सुशासनका लागि अनलाइन सेवा
महानगरको केन्द्रमा रहेका विभाग तथा वडाबाट प्रवाह हुने सेवालाई अनलाइन प्रणालीमा सुधार, विकास र विस्तार गरिनेछ । यस शीर्षकमा १५ करोड रुपैयाँ विनियोजन भएको छ । 

१०)    गरि खाने शिक्षा, महानगरको इच्छा
सामुदायिक विद्यालयको पूर्वाधार सुधार र गुणस्तरीय शिक्षा प्रवर्धन गर्न गरि खाने सिप तथा क्षमता विकास गर्ने खालको शैक्षिक क्रियाकलापका सञ्चालन हुनेछन् । यसका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।       

स्वर्णिम योजना 
२५ वटा स्वर्णिम योजनामध्ये सार्वजनिक निर्माण विभाग र सम्पदा तथा पर्यटन विभागले कार्यान्वयन गर्नु पर्ने ३÷३ वटा योजना छन् । यससँगै सम्पदा तथा पर्यटन विभागले सामाजिक विकास विभागसँग संयुक्त रुपमा कार्यान्वयनमा ल्याउनु पर्ने एउटा योजना छ । स्वास्थ्य विभागसँग २ वटा आफैँ र एउटा महानगर प्रहरी बलसँगको सहकार्यमा कार्यान्वयन गर्नुपर्ने योजना छन् । यस्तै प्रशासन विभागले कार्यान्वयन गर्नु पर्ने २ वटा योजना छन् । 

शिक्षा, कृषि तथा पशुपंक्षी, कानुन तथा मानव अधिकार, सार्वजनिक निजी साझेदारी, राजस्व, वातावरण व्यवस्थापन, सहकारी, सामाजिक विकास, सहरी व्यवस्थापन विभाग र सहरी योजना आयोगले कार्यान्वयन गर्नु पर्ने १÷१ वटा योजना छन् । 

१)    सुन्दर विद्यालय परियोजना
विद्यालयलाई कलात्मक, सुन्दर र हरियाली प्रवर्धन गर्नु यसअन्तर्गतका क्रियाकलाप हुन् । यस योजनाका लागि शिक्षा विभागअन्तर्गत ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

२)    स्वच्छ भान्सा कार्यक्रम 
सहरी जीवनलाई स्वस्थ्यकर बनाउन भान्सा सुधार गर्नु यसको मुख्य क्रियाकलाप हो । व्यक्तिगत र संस्थागत भान्साहरुलाई स्वच्छ बनाएर खानेकुराबाटै निदानात्मक, प्रवर्धनात्मक र उपचारात्मक सेवा उपलब्ध गराइनेछ । स्वास्थ्य विभागले सञ्चालन गर्ने यस कार्यका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । 

३)    खेलकुद पूर्वाधार परियोजना
यो परियोजना सार्वजनिक निर्माण विभागले सञ्चालन गर्छ । खुल्ला चौर, गौचरणलगायत स्थानको पूर्वाधार सुधार गरेर खेल खेल्न योग्य स्थान बनाइनेछ । यस कार्यका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

४)    एग्रो पुलिङ् परियोजना
महानगरबासीलाई स्वस्थ्य, स्वच्छ तथा गुणस्तरीय खाद्यान्न, तरकारी र फलफुल उपयोग गर्न सघाउनु यस परियोजनाको मुख्य क्रियाकलाप हो । कृषि तथा पशुपंक्षी विभागले सञ्चालन गर्ने यस कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

५)    पूर्वाधार एम्बुलेन्स
महानगरभित्रका पूर्वाधारमा देखिएका समस्या तत्काल मर्मत सम्भार गर्न स्वचालित संयन्त्रको परिचालन यसको मुख्य काम हो । सार्वजनिक निर्माण विभागले सञ्चालन गर्ने यस कार्यक्रमका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।     

६)    एकल सेवा केन्द्र  
प्रशासन विभागबाट कार्यान्वयन हुने यो योजनाबाट सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाइनेछ । यसका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

७)    श्रम बैङ्क
यस योजनाले रोजगारी प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्छ । महानगरको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले अगाडि सारिएको यो कार्यक्रम प्रशासन विभागबाट कार्यान्वयन हुनेछ । यसका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । 

८)    न्याय चौतारी
यो योजना कानुन तथा मानव अधिकार विभागले कार्यान्वयन गर्छ । १ करोड रुपैयाँ रकम विनियोजन गरिएको यस योजनाअन्तर्गत सर्वसाधारणलाई सहजकर्तामार्फत न्यायमा पहुँच वृद्धि गर्ने कार्यक्रम सञ्चालन हुनेछ । 

९)    पिउने पानी तथा सार्वजनिक शौचालय
४ करोड रुपैयाँ विनियोजत गरिएको यो योजना सार्वजनिक निजी साझेदारी एकाईले कार्यान्वयन गर्नेछ । महानगर क्षेत्रभित्रका उपयुक्त र आवश्यक ठाउँमा शौचालय र पिउने पानीको प्रबन्ध गरिनेछ । यसका लागि निजी क्षेत्रको समेत सहभागिता गराइने छ । 

१०)    इरेण्टल
यो वहाल व्यवस्थापनका लागि इन्टरनेटमा आधारित प्रणाली हो । २ करोड रुपैयाँ विनियोजन गरिएको योजना राजस्व विभागले कार्यान्वयनमा ल्याउनेछ । यस योजनाअन्तर्गत महानगरपालिकाभित्र समग्र बहाल प्रणालीलाई आफ्नै पोर्टलमार्फत व्यवस्थापन गरिनेछ । 

११)    सुलभ फार्मेसी
६ करोड रुपैयाँ विनियोजन भएको यो योजना स्वास्थ्य विभाग र महानगर प्रहरी बलले संयुक्त रुपमा कार्यान्वयन गर्नेछन् । महानगरपालिकाभित्र सुपथ र सहज ढङ्गबाट औषधि विक्री वितरण गर्ने योजनाको मुख्य क्रियाकलाप हो । यसअन्तर्गत चालु आर्थिक बर्षमा महानगरभित्रका ५ स्थानमा सुलभ फार्मेसी स्थापना र सञ्चालन गरिनेछ । 

१२)    यातायात तथा ट्राफिक
यस योजनाका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ । यातायात प्रणालीलाई प्रभावकारी रुपमा व्यवस्थापन गरेर सडक सुरक्षाको प्रत्याभूति गराउनु यसका मुख्य क्रियाकलाप हुन् । 

१३)    नदी सफाइ
७ करोड रुपैयाँ विनियोजन गरिएको यो कार्यक्रम वातावरण व्यवस्थापन विभागले कार्यान्वयन गर्नेछ । महानगरपालिका भएर बग्ने नदी र खोलाहरुलाई नियमित र प्रभावकारी रुपमा सरसफाइ गर्ने यस योजनाअन्तर्गतका क्रियाकलाप हुन् । 

१४)    डुबान समाधान
विपद व्यवस्थापन विभागले कार्यान्वयन गर्ने यो योजनाका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । ढल प्रणालीको नियमित र प्रभावकारी सरसफाइ गरेर सतह पानीको प्रवाहलाई नियमित गरेर सहरमा हुने डुवान व्यवस्थापन गर्नु यसको मुख्य क्रियाकलाप हो । 

१५)    ढुङ्गेधारा, हिटी र पोखरी संरक्षण
सम्पदा तथा पर्यटन विभागले कार्यान्वयन गर्ने यो योजनाका मुख्य क्रियाकलापहरुमा सञ्चालनमा रहेका ढुङ्गेधारा, हिटी र पोखरीहरुको नियमित सरसफाइ गरेर जीवन्त बनाउनु हो । यसका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

१६)    आरोग्य जीवन
स्वास्थ्य विभागले कार्यान्वयन गर्ने यस योजनाका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । नागरिकको शारीरिक र मानसिक स्वास्थ्यलाई स्वस्थ्य र तन्दुरस्त बनाउन योग र ध्यान जस्ता क्रियाकलाप वृद्धि गर्नु, आयुर्वेदिक उपचार पद्धतिलाई प्रवर्धन गर्नु योजनाअन्तर्गत हुने मुख्य क्रियाकलाप हुन् । यस कार्यका लागि जीम तथा यसप्रकारका क्लवहरुसँग सहकार्य हुनेछ । 

१७)    मेट्रो मार्ट      
सहकारी विभागले कार्यान्वयन गर्ने यस योजनाका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । खाद्यान्न, तरकारी, फलफुललगायत दैनिक उपभोग्य बस्तुका बारेमा अनलाइन प्रणालीमार्फत जानकारी दिने, उपभोक्ता घरमा खाद्यान्न तथा तरकारी पठाउने प्रणालीका लागि सहजीकरण गर्ने, हरेक व्यवसायलाई मोवाइल एप्लिकेसनमा आवद्ध गर्ने तथा अनलाइन (इकमर्स) पोर्टलमार्फत उत्पादित बस्तुको प्रवर्धनमा सहजीकरण गर्ने यसअन्तर्गतका क्रियाकलाप हुन् । 

१८)    साथी महानगर
यो सामाजिक विकास विभागको योजना हो । यसका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । सेवाग्राही र महानगरबासीका बिच आत्मीय सम्बन्ध स्थापना गर्ने कार्यक्रम यसका मुख्य क्रियाकलाप हुन् । 

१९)    स्मार्ट टोल
यो नागरिकको सहभागितासँग प्रत्यक्ष जोडिएको योजना हो । सहरी व्यवस्थापन विभागले कार्यान्वयन गर्ने यस योजनामा महानगरपालिका भित्रका टोल विकास समितिहरुको पुनस्र्थापना गरेर उनीहरुमार्फत तोकिएबमोजिमका स्मार्ट टोल निर्माण गर्ने क्रियाकलाप सञ्चालन हुन्छन् । यस योजनाका लागि ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

२०)    सांस्कृतिक सहर
सम्पदा तथा पर्यटन विभागले कार्यान्वयन गर्ने यो योजनाका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिकाभित्रका मूर्त अमूर्त सांस्कृतिक सम्पदाहरुलाई उजागर गर्ने, पुनर्ताजगी गर्ने यसका मुख्य क्रियाकलाप हुन् । 

२१)    पर्यटकीय सहर
सम्पदा तथा पर्यटन विभागले यो योजना कार्यान्वयन गर्नेछ । यसका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस योजना अन्तर्गत महानगरमा आउने पर्यटकका लागि आवश्यक र उपयोगी सूचना दिन सक्ने एप्लिकेसन निर्माण गर्ने, होम स्टेमार्फत मौलिक कला, संस्कृतिको प्रवर्धन गर्ने क्रियाकलाप हुनेछन् । 

२२)    सम्पदा मर्मत तथा संरक्षण कार्य
२३ करोड रुपैयाँ विनियोजन गरिएको यो योजना सम्पदा तथा पर्यटन विभाग र सामाजिक विकास विभागले संयुक्त रुपमा कार्यान्वयन गर्नेछन् । सबै सम्पदा क्षेत्रको नियमित मर्मत, सम्भार र सुन्दरताका लागि स्वचालित प्रणाली विकास गर्नु यसको मुख्य क्रियाकलाप हो । 

२३)    अनुसन्धान तथा अन्वेषण केन्द्र
सहरी योजना आयोगले कार्यान्वयन गर्ने यस योजनाका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । महानगरको आर्थिक, सामाजिक तथा भौतिक समृद्धि र पहिचानका लागि सम्भावनाका क्षेत्रहरुको अध्ययन अनुसन्धान गर्ने योजनाअन्तर्गतको मुख्य क्रियाकलाप हो । यसबाट समस्या समाधानका लागि सृर्जनात्मक उपाय प्राप्त हुने अपेक्षा गरिएको छ । 

२४)    सबैको योजना, सबैको विकास
यस योजनाका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिकाको विकास अभियानमा आवद्ध हुन चाहने सामाजिक संघ संस्थाहरुको सहलगानीमा विकासका गतिविधि सञ्चालन गर्नु यसका मुख्य क्रियाकलाप हुन् । 

२५)    सुन्दर महानगर
यस योजनाका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसलाई सार्वजनिक निर्माण विभागले कार्यान्वयनमा ल्याउनेछ । यस योजनाअन्तर्गत सडक, सडकपेटी, पर्खाल, कार्यालय, पार्कलगायत सार्वजनिक ठाउँहरुको सुन्दरता बढाउने क्रियाकलाप सञ्चालन गरिनेछन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत