वातावरण

माैसम : आज सुदूरपश्चिममा बढि पानी पर्ने, जोखिमबाट बच्न यसरी गर्नुस् पूर्वतयारी

काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालनजिक) रहनु नै अहिलेको वर्षाको मुख्य कारण भएको विभागले जनाएकाे छ ।

यस्तै, अहिले नेपालमा भारतको उत्तरपूर्वी उत्तर प्रदेश तथा उत्तरपश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको जनाएको छ ।

आज दिउँसो देशभर पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै र मधेस प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

जोखिमबाट बच्न यसरी गरौँ पूर्वतयारी

 

 मनसुन सुरु भएसँगै बाढीपहिरो वा डुबानको जोखिम बढेको छ । नेपालमा हरेक वर्ष बाढीपहिरोबाट जनधन क्षति हुने गरेको छ ।

बाढीले बर्सेनि तराईका सयौँ घर डुबानमा परेका छन् भने पहाडमा पनि पहिरोले घर बगाएर धेरै परिवार विस्थापित भइरहेका छन् ।पहाडका कतिपय क्षेत्रमा पहिरोले घर बगाउँदा धेरै मानिसले ज्यान गुमाइरहेका छन् भने कति बेपत्ता पनि छन् ।

घर–गाउँ बाढी, पहिरो वा डुबानको जोखिममा रहेको अवस्थाका त्यसबाट बच्न तथा सम्भावित क्षति कम गर्न पूर्व तयारी अपनाउन सरकारले आग्रह गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुलेटिनमा बाढीपहिरो वा डुबानको जोखिमको पूर्वतयारीबारे उल्लेख गरेको छ ।

– नदीको जलसतहले सतर्कता तह पार गरेको सूचना आएमा अथवा केही म्यासेज आयो छ कि बेला–बेलामा मोबाइलमा चेक गर्न, दैनिक बुलेटिनमार्फत मन्त्रालयले स्थानीय रेडियोका समाचार पनि बेला बेला सुन्न आग्रह गरेको छ ।

– सुरक्षित स्थानतिर जान भनिएको छ भने सूचनामा भनिए जस्तै सुरक्षित स्थानतिर जानुपर्ने बताइएको छ ।

– मोबाइलमा ब्याट्री र ब्यालेन्स छ छैन चेक गर्नुस् । यस्तो बेला अनावश्यक तथा लामो कुराकानी नगर्नुहोस् । ब्याट्री बचाएर, ब्यालेन्स हालेर मोबाइल आफैसँग राख्न अनुरोध गरेको छ ।

– मोबाइलमा अत्यावश्यक फोन नम्बरहरु सेभ गरेर राख्नुहोस् । बाढीबारे बुझ्न ११५५ सहयोगका लागि ११४९, प्रहरीलाई बोलाउन १०० र स्वास्थ्य समस्या भए १११५ र ११३३ फोन गर्न सकिनेछ।

– अत्यावश्यक कागजातहरू जस्तै नागरिकता, लालपूर्जा, जन्मदर्ता विवाहदर्ता, राहदानी, शैक्षिक प्रमाणपत्रहरू साथै गरगहना र नगदका साथै अत्यावश्यक औषधि, टर्चलाइट, पानी, तयारी खाजा जस्ता सामानहरू एउटा झटपट कोलामा सुरक्षित राख्न र सुरक्षित स्थानतिर जाँदै सँगै लैजान बुलेटिनमार्फत मन्त्रालयले आग्रह गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत