गाउँ सहर

चुनढुंगा उत्खनन्‌ले गाउँ नै पहिराको उच्च जोखिम

  • ६ भदौ बुधबार, २०८० | ०७:३१:०० मा प्रकाशित

कटारी । उदयपुरको कटारी नगरपालिका-८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा रहेको छ । भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिराको उच्च जोखिममा परेका हुन् ।

सिरहास्थित सौर्य सिमेन्टका लागि चुनढुङ्गा उत्खनन् गर्ने खानीसँगै जोडिएको खानीको तल्लो भेगमा पर्ने मगर समुदायको बस्ती रहेको गाउँ पहिराको उच्च जोखिममा परेको हो ।

‘माथि खनेको ढुङ्गासमेत गाउँमा झर्ने गर्छ । कति बेला कसको ज्यान जान्छ भन्न सकिदैन’, टाँटरीका स्थानीय नरबहादुर मगर भन्छन्, ‘वर्षा ६ गाउँमाथिको टापुमा स्काभेटरले खनेको खन्यै छ निदाउन सकिँदैन ।’

गाउँमाथि उत्खनन क्षेत्रमा आधा दर्जन स्काभेटरले नियमित ब्रेकर चलाउँदा भिरालो ठाउँमा रहेको बस्ती हल्लिने गरेको स्थानीय सेब्रे मगरले बताए । ‘कति बेला पहिराले लैजाने हो की ढुङ्गा झरेर मार्ने हो थाहा छैन’, उनले भने, ‘हाम्रो जग्गा किनिदिए पनि गाउँ छोडेर हिँड्न हुन्थ्यो ।

पाँच वर्ष अघिदेखि उक्त क्षेत्रमा सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्टले खानी उत्खनन सुरु गरेको हो । खानी उत्खननका समयमा उक्त बस्ती पनि हटाउने कुरा भए पनि उद्योगले उक्त कार्य नगर्दा बस्ती जोखिममा परेको स्थानीयवासी बताउँछन् ।

उत्खननपछि खानी तथा भूगर्भ विभागको अनुगमनले पनि उक्त बस्ती हटाउनुपर्ने सुझाव दिए पनि उद्योगले बेवास्ता गरेको स्थानीय सूर्य लामाले बताए ।

‘अनुगमनले तुरुन्तै यो बस्ती हटाएर मात्रै काम गर्नु भनेको थियो । तर अझै पनि हटाइएको छैन’, लामाले भने, ‘बस्ती हटाउन बस्तीको जग्गा जमिन खरिद गर्नुपर्ने भएपछि उद्योगले खर्च नगरी उत्खनन गरिरहेको छ ।’

उद्योगका लागि ‘ए’ ब्लक खानी कार्यालयका माइनिङ इन्चार्ज होमबहादुर बस्नेत भने मापदण्डअनुसार उत्खनन गरेकाले जोखिम नरहेको दाबी गर्छन् । ‘विभागको मापदण्डबाहेक एक इञ्च पनि तलमाथि गरेका छैनौँ’, इञ्चार्ज बस्नेतले भने, ‘अनुगमन नियमित आउँछन् हामीले लापरबाही गर्नै मिल्दैन ।’

वर्षाको समयमा पनि खानीमा नियमित उत्खनन जारी छ । वर्षामा झनै माटो खुकुलो भएर स्काभेटर चलाउँदा भित्ता थर्किने र पहिरो जाने जोखिम रहेको स्थानीयवासी बताउँछन् ।

वर्षामा उत्खनन गर्न नमिल्ने भए पनि उद्योगले जबरजस्ती गरेको स्थानीयवासीको आरोप छ । तर, खानी तथा भूगर्भ विभागका प्रवक्ता सुपरिटेण्डेट जियोलोजिष्ट मोनिका झा वर्षामा उत्खनन बन्द गर्ने भनेको स्थानीय निकायको अधिकारमा नदीजन्य वस्तु मात्र रहेको बताउँछन् ।

खानी उत्खनन जहिले पनि गर्न मिल्ने झाको भनाइ छ । खानी उत्खनन गरिएको क्षेत्रसँगै जोडिएको लल्लरी खोला रहे पनि स्थानीय सरकारले यसको विषयमा चासो नदिएको स्थानीयवासीको भनाइ छ ।रासस

तपाईँको मत