समाज

बैदिक सनातन धर्म र संस्कृतिको जगेर्नाका लागि भागवत वाचन प्रतियोगिता

पोखरा । भक्तिगोविन्द भागवत श्री अध्ययन प्रतिष्ठानको आयोजनामा पूर्वीय संस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ भागवत वाचन प्रतियोगिता सम्पन्न भएको छ । प्रतिष्ठानकै आयोजनामा गत भदौ ३० गतेदेखि पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरमा सञ्चालित श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) को समापनका अवसरमा  प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा गुरुकुल बेदविद्याश्रम स्याङ्गजाका गोपालप्रसाद रेग्मी प्रथम, पोखरा चिसाखोला बेलविद्याश्रमका हरि आचार्य द्वितीय, केदारेश्वर वैदिक गुरुकुल विद्याश्रमका पोखराका गणेश भण्डारी तृतीय र परमानन्द संस्कृत गुरुकुल देबघाटका सुफल खरालले सान्त्वना स्थान प्राप्त गरे । भागवत जयन्तीको अवसर पारी गरिएको प्रतियोगितामा नौवटा संस्कृत विद्यालयका विद्याथी सहभागी भएका थिए । विजयी विद्यार्थीलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ११ हजार, सात हजार ५००, पाँच हजार र तीन हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रतिष्ठानका अध्यक्ष भक्ति अधिकारी, राधाकृष्ण मन्दिरका पीठाधिश मुकुन्दशरण उपाध्यायाले प्रदान गरे ।

प्रतियोगिताको निणार्यक मण्डलको संयोजकमा विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मी सदस्यमा डा.भोलानारायण रेग्मी र फणिनारायण सिग्देल रहेका थिए ।

यसका साथै भक्तिगोविन्द भागवत श्री अध्ययन प्रतिष्ठानको आयोजनामा पोखरा ३२, लामेआहालस्थित राधाकृष्ण मन्दिरमा गत भदौ ३० देखि सुरु महायज्ञमा सञ्चालित श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) शनिबार सम्पन्न भएको छ ।

समापन कार्यक्रममा प्रतिष्ठानका पिठाधीश मुकुन्दशरण उपाध्यायले पछिल्लो समयमा हिन्दू धर्मको विषयमा ज्ञाताहरुको समेत कमी देखिन लागेकाले यस विषयमा ज्ञान छर्नु कार्यक्रमको मुख्य उद्धेश्य रहेको वताएका थिए ।

प्रतिष्ठानका सल्लाहकार माधवशरण उपाध्यायले महायज्ञ आयोजना गर्नुुको मुख्य उद्धेश्य आध्यात्मीक भावनाको जागरण ल्याउनु भएको वताउँदै भक्तजनहरुलाई दान गर्न प्रेरित नगरिएको वताउँदै स्वस्फुर्त रुपमा प्राप्त भएका दान मन्दिरको नाउँमा जम्मा गरिएको वताए ।

प्रतिष्ठानका सल्लाहकार एवं राधाकृष्ण मन्दिरका सह–अध्यक्ष गणेशबहादुर खत्रीले सप्ताह कुनै आर्थिक संकलनको उद्देश्यका साथ नभए पनि भक्तजनबाट स्वतस्फूर्त दान तथा सहयोग प्राप्त भएको बताए । कार्यक्रममा ब्राश्मण समाज नेपालका केन्द्रीय अध्यक्ष नारायण प्रसाद अधिकारी, राधाकृष्ण गुरुकुलका अध्यक्ष नगेन्द्र प्रसाद रेग्मी लगायतले बोलेका थिए ।

यस्तै शनिबार नै महायज्ञ सम्पन्न गर्न महत्वपूर्ण योगदान गर्ने एवं भागवत संस्कृतिको उत्थानमा लागेका विभिन्न व्यत्तित्वहरु प्रमुख वाचक ईश्वरकृष्ण महाराज, भागवत श्री अध्ययन प्रतिष्ठानका पिठाधीश मुुकुन्दशरण उपाध्याय र अध्यक्ष भक्ति पाध्या अधिकारीलाई अभिनन्दन समेत गरिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत