अर्थतन्त्र

रेमिट्यान्सबाट भित्रिएको रकम अनुत्पादक क्षेत्रमा खर्च, घरघडेरीमा ६५ र गरगहनामा ६३ प्रतिशत

काठमाडौं । रेमिट्यान्स आप्रवाहबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको एक अध्ययनबाट देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ विषयक प्रतिवेदनले उक्त वास्तविकता देखाएको हो । लुम्बिनी प्रदेशका ५ जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र रोल्पाबाट वैदेशिक रोजगारीमा गएका ३८३ परिवारको स्थलगत सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार पारिएको हो ।

प्रतिवेदनअनुसार रेमिट्यान्सका रुपमा भित्रिएको रकममध्ये दैनिक उपभोगमा मात्र ५८.७८ प्रतिशत खर्च हुने गरेको देखिएको छ भने शिक्षा तथा स्वास्थ्य क्षेत्रमा २२.४८ प्रतिशत, ऋण तिर्न १०.७ प्रतिशत र मनोरञ्जन तथा अन्य क्षेत्रमा ८.६७ प्रतिशत खर्च गर्ने गरेको अध्ययनमा उल्लेख छ ।

अध्ययनमा समेटिएका परिवारमध्ये ९६.६१ प्रतिशत परिवारको दैनिक उपभोग खर्च वैदेशिक रोजगारीमा जानुअघिको तुलनामा बढेको पाइएको छ । त्यस्तै, ९६.०८ प्रतिशत परिवारको चाडपर्व, मनोरञ्जन, सामाजिक खर्च बढेको छ ।

विदेशबाट पठाएको पैसा विभिन्न क्षेत्रमा लगानी भएको स्थिति समीक्षा गर्दा अनुत्पादक क्षेत्रमै बढी लगानी भएको देखिएको छ । व्यापार व्यवसायमा लगानी गर्ने ६८.२१ प्रतिशत, घरघडेरीमा लगानी गर्ने ६५.८० प्रतिशत र गरगहना खरिद गर्ने ६३.१९ प्रतिशत रहेको राष्ट्र बैंकको अध्ययनमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा गएकाहरुको लैंगिक हिसाबले विश्लेषण गर्दा पुरुष ९४ प्रतिशत तथा महिला ६ प्रतिशत छन् । वैवाहिक अवस्थाको आधारमा विवाहित ८५.९० प्रतिशत र अविवाहित १४.१० प्रतिशत छन् ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालबाट श्रम स्वीकृति लिनेको संख्या ७ लाख ७१ हजार ३२७ पुगेको छ । लुम्बिनी प्रदेशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ लाख ३६ हजार ९८४ छ । यो संख्या नेपालबाट श्रम स्वीकृति लिने कुल संख्याको १७.७६ प्रतिशतबराबर हो ।

अध्ययनअनुसार वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकहरुमध्ये सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (यूएई)मा २४.२८ प्रतिशत छ भने सबैभन्दा कम ओमन तथा बहराइनमा १.८३ प्रतिशत वैदेशिक रोजगारीका लागि गएका छन् ।

अध्ययनमा समेटिएका परिवारमध्ये वैदेशिक रोजगारीअन्तर्गत ५ वर्षभन्दा कम अवधि काम गर्ने ३६.८२ प्रतिशत र ५ वर्षभन्दा बढी काम गर्ने ६३.१८ प्रतिशत छन् । आर्थिक अवस्था सुधार्न वैदेशिक रोजगारीमा जानुपर्ने प्रमुख कारण भएको ४१.८० प्रतिशतले बताएका छन् ।

अध्ययनमा समेटिएका वैदेशिक रोजगारीमा संलग्नमध्ये सीपमूलक तालिम नलिई जाने ७६ प्रतिशत छन् भने तालिम लिएर जाने २४ प्रतिशत छन् । वैदेशिक रोजगारीबाट वार्षिक ५ लाखसम्म आम्दानी गर्ने ४२.३० प्रतिशत, ५ देखि १० लाखसम्म ३९.६९ प्रतिशत र १० लाखभन्दा माथि आयआर्जन गर्ने १८.१ प्रतिशत रहेको अध्ययनमा जनाइएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार १० वर्षको रेमिट्यान्स आप्रवाह वार्षिक औसत ११.१३ प्रतिशत छ । आर्थिक वर्ष २०७०/७१ मा ५ खर्ब ४३ अर्ब २९ करोड रेमिट्यान्स रकम नेपाल भित्रिएको थियो । आर्थिक २०७९/८० सम्म आइपुग्दा १२ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ पुगेको देखिन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत