गाउँ सहर

४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रियाे, विदेशमा पढ्न जानेले ३८ अर्ब ४४ करोड

 

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो ४ महिना अर्थात् साउनदेखि कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चार महिनाको वित्तीय प्रतिवेदनअनुसार पोहोरको यहीं अवधिको तुलनामा रेमिट्यान्स २६.४ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा २०.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो । कात्तिक महिनामा मात्रै १ खर्ब १२ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

समीक्षा अवधिको चार महिनामा अमेरिकी डलरमा भने रेमिट्यान्सको वृद्धिदर २३.१ प्रतिशत छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ ।

विदेशमा पढ्न जानेले चार महिनामा लगे ३८ अर्ब ४४ करोड

विदेशमा पढ्न जाने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चार महिनाको वित्तीय प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको तुलनामा सो संख्या उल्लेख्य बढेको हो ।

चार महिनामा विदेशमा पढ्न जाने विद्यार्थीले ३८ अर्ब ४४ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा विदेशमा पढ्न जाने विद्यार्थीले २२ अर्ब ६१ करोड रुपैयाँ लगेका थिए ।

पर्यटन आयमा उल्लेख्य सुधार, ४७.२ प्रतिशतले वृद्धि

नेपालमा पर्यटक आगमनमा उल्लेख्य सुधार नेपाल देखिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा सेवा आयअन्तर्गत भ्रमण आयमा ४७.२ प्रतिशतले वृद्धि भएर २५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ४९ करोड रुपैयाँ थियो ।

खुद्रामा २.७ र थोकमा ८.११ प्रतिशतले घट्यो महँगी

बजारमा महँगी घटेको तथ्याङ्‍क नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । बिहीबार चालु आर्थिक वर्षको चौथो महिनाको समग्र आर्थिक र वित्तीय अवस्थाको विवरण सार्वजनिक गर्दै केन्द्रीय बैंकले बजारमा खुद्रामा २.७ प्रतिशत र थोकमा ८.११ प्रतिशतले महँगी घटेको विवरण सार्वजनिक गरेको हो ।

केन्द्रीय बैंकको तथ्याङ्‍कअनुसार चालु आर्थिक वर्षको चौथो महिनामा समग्र मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । जुन केन्द्रीय बैंकको आफ्नो वार्षिक लक्ष्यमा तोकेको विन्दुभन्दा पनि न्यून हो ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको छ ।

यस्तै समीक्षा महिनामा घ्यू तथा तेल र तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ ।

सरकारी खातामा साढे एक खर्ब मौज्दात

चालु आर्थिक २०८०/०८१ को कात्तिक मसान्तसम्म सरकारी खातामा एक खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ मौज्दात कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार प्रदेश र स्थानीय सरकारको खातामा रहेको रकम समेत गरी उक्त नगद मौज्दात छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म यस्तो मौज्दात ७१ अर्ब ९८ करोड रूपैयाँ थियो । चार महिनामा सरकारको नगद मौज्दात ८० अर्ब ४२ करोड रूपैयाँले वृद्धि भएको हो । 

गाउँ सहर संवाददाता

तपाईँको मत