गाउँ सहर

१०१ क्विन्टल अन्नबाट जनकपुरमा बनाइयो सीतारामको प्रतिमा

  • ३० मङ्सिर शनिबार, २०८० | १८:३६:०० मा प्रकाशित

काठमाडाैं । जनकपुरधाममा अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनकता बढाएको छ ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकतालाई अन्नद्वारा निर्मित सीतारामको प्रतिमाले झनै बढाएको हो । विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामको रङ्गभूमि मैदान १२ बिघामा निर्माण गरिएको ११ हजार ११ स्क्वायर फिटको यो प्रतिमालाई शनिवारबाट सर्वसाधारणको अवलोकनको लागि समेत खुल्ला गरिएको छ ।

प्रतिमाको निर्माण ११ पटक अन्नकै प्रतिमा बनाएर विश्व रेकर्ड बनाएका भारतको मध्यप्रदेशका सतिश गुर्जरले गरेका छन् । कोरोना महामारीको समयदेखि अन्नको प्रतिमा निर्माण गर्न शुरु गरेका गुर्जरले नेपाल भारतको साझा संस्कृतिलाई प्रचारप्रसार गर्ने उद्देश्यले बिना पारिश्रमिक यो प्रतिमाको निर्माण गरेका हुन् ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठको संयोजकत्वमा निर्माण समितिद्वारा निर्मित यो प्रतिमामा भगवान सीतारामको स्वयम्वरको दृश्य र राजर्षि जनक तथा गुरु विश्वामित्रको पनि प्रतिमा बनाइएको छ । प्रतिमामा ११ प्रकारका १ सय १ क्विन्टल अन्नको प्रयोग गरिएको छ । भारतीय कलाकारले निर्माण गरेको यो प्रतिमाले नेपाल भारतको साझा संस्कृति दर्शाइ रहेको वीरगञ्जको भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मिणाले बताए ।

पछिल्लो पटक भारतको अयोध्यमा अन्नबाटै प्रतिमा निर्माण गरेर विश्व रेकर्ड बनाएका सतिश गुर्जरकै टिमले आफ्नै रेकर्ड तोड्ने उद्देश्यले निर्माण गरिएको यो प्रतिमाले जनकपुरधामको पर्यटनलाई बढावा दिने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए ।

यो प्रतिमा निर्माण गरेर अन्नको दुरुपयोग गरिएको भन्दै आलोचना भइरहेको समयमा प्रतिमा निर्माणमा प्रयोग गरिएको अन्न खेर नजाने प्रतिमा निर्माण समितिले जनाएको छ । प्रतिमा निर्माणमा प्रयोग गरिएका अन्न अनाथालय, वृद्धाश्रम, मानव सेवा आश्रम लगायतका स्थानमा प्रयोग गर्न सकिने कतिपयको तर्क छ ।

तपाईँको मत