शिक्षा

त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने दाैडमा ४३ जना प्राध्यापककाे आवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने दाैडमा ४३ जना प्राध्यापकले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन सोमबारसम्म विश्वविद्यालयको २०औं उपकुलपति बन्न दुई महिलासहित ४३ जना प्राध्यापकले खुला प्रतिस्पर्धाका लागि आकांक्षा देखाएका छन् ।

उपुकलपति सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने र तीमध्ये एकलाई कुलपतिले नियुक्ति दिने व्यवस्था छ । प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालको निर्देशनमा शिक्षामन्त्री तथा सहकुलपति अशोककुमार राई अध्यक्षताको सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्ति गर्न १५ दिन समय दिएर आवेदन माग गरेको थियो ।

त्रिविका निमित्त उपकुलपति शिवलाल भुसाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह, त्रिविका पूर्वउपकुलपति तीर्थराज खनियाँ, खुला विश्वविद्यालयका पूर्वउपकुलपति लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल, त्रिविका पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, पूर्वरेक्टर गुणनिधि न्यौपाने, गण्डकी विश्वविद्यालयका उपकुलपति नवराज देवकोटाले आवेदन दिएका छन् ।

त्यस्तै त्रिवि मानविकी संकायकी डिन कुसुम शाक्य, शिक्षा संकायका डिन चित्रबहादुर बुढाथोकी, त्रिवि कार्यकारी परिषद्का सदस्य महानन्द चालिसे, ताहाचल क्याम्पसका प्राध्यापक भीमसेन देवकोटा, त्रिरत्न बज्राचार्य, संगीता रायमाझी, गोविन्द सुवेदी, टंकनाथ धमला, भोजराज अर्याल, प्रकाश घिमिरे, केदारनाथ घिमिरे, पूर्वडिनहरू कृष्णराज तिवारी, इन्द्रबहादुर कार्की, राजकुमार पोखरेल, बालमुकुन्द रेग्मी, एकराज ओझा, देवबहादुर खड्का, अक्कल देव मिश्र, प्रमोदकुमार झालगायतले आवेदन दिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिस्पर्धाका आधारमा त्रिविको उपकुलपति चयन गर्न छनोट र सिफारिस कार्यविधिसहित सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो । कार्यविधिअनुसार अन्तर्वार्ता र प्रस्तुतीकरणबाहेकका अंकबाट अल्पसूची तयार पारिनेछ । आवेदन दिनेमध्ये एक तिहाइ वा १५ जनामध्ये जुन कम हुन्छ, तिनै उम्मेदवारलाई अल्पसूचीमा राखिनेछ । अल्पसूचीबाट प्रस्तुतीकरणको मूल्यांकन र अन्तर्वार्ता लिएर सर्वोत्कृष्ट अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये कुलपतिले एक जनालाई नियुक्ति दिने भनिएको छ । कुनै पनि राजनीतिक दलको सदस्य भएका र त्रिविमा स्वार्थको द्वन्द्व रहेका प्राध्यापकलाई भने दरखास्त दिनबाट वञ्चित गरिएको छ ।

राजनीतिक दलको सदस्यता नभएको र स्वार्थको द्वन्द्व नरहेको उम्मेदवारले आवेदनमा नै स्वघोषणा गर्नुपर्ने व्यवस्था तोकिएको छ । कार्यविधिमा न्यूनतम योग्यतामा जुन कुनै विश्वविद्यालयको प्राध्यापकमा नियुक्ति भई अनुभव प्राप्त गरेको हुनुपर्ने उल्लेख छ । शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ । सिफारिस समितिले सुरुमा पूर्वपदाधिकारीले मात्र आवेदन दिन पाउने गरी दरखास्तको सूचना गरेपछि आलोचना भएको थियो । प्रधानमन्त्री दाहालले प्रतिस्पर्धा गर्न पाउने दायरा फराकिलो बनाएर आवेदन माग गर्न समितिलाई निर्देशन दिएका थिए । पहिलो सूचना रद्द गरेर पुनः दरखास्त माग गरिएको हो ।

समितिमा शिक्षामन्त्री राई अध्यक्ष, शिक्षा सचिव अधिकारी र त्रिवि सभा सदस्य चन्द्रकला घिमिरे सदस्य छन् । आवेदकबीच शैक्षिक योग्यता, अनुभव, पुस्तक प्रकाशन, विश्वविद्यालयसम्बन्धी सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणमा एक सय अंकमा प्रतिस्पर्धा गराउने कार्यविधिमा उल्लेख छ । विश्वविद्यालयसम्बन्धी सोचपत्र र कार्ययोजनालाई ३५ अंक छुट्याइएको छ । प्रस्तुतीकरणमा २० र अन्तर्वार्ताका लागि १५ अंक तोकिएको हो । प्राज्ञिक अनुसन्धानमूलक परियोजनाका लागि ६, पुस्तक प्रकाशनबापत ५, विश्वविद्यालयको पदाधिकारीको अनुभवका लागि ४, विद्यावारिधि योग्यताका लागि ५ र प्राध्यापकको अनुभवलाई १० अंक तोकिएको छ । ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको कार्ययोजना माग गरिएको छ ।

सोचपत्र विश्वविद्यालयको गुणस्तर वृद्धि, सम्पत्ति आर्जनसहित आत्मनिर्भर, क्याम्पसहरूको सुदृढीकरण, पारदर्शी एवं जवाफदेहिता र त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउन केन्द्रित हुनुपर्ने कार्यविधिमा उल्लेख छ । कार्ययोजना त्रिविको रणनीतिक सुधार, अन्तरविश्वविद्यालयको सम्बन्ध, समस्यासहित विद्यमान अवस्थामा केन्द्रित हुनुपर्ने जनाइएको छ । प्रतिस्पर्धीको आवेदनको मूल्यांकन गरेर अल्पसूची प्रकाशन गरिने र विज्ञ समितिबाट अल्पसूचीमा परेकाबीच प्रतिस्पर्धा गराउने उल्लेख छ । समितिले सोचपत्र र कार्ययोजनाको मूल्यांकन गर्न विज्ञ समूह गठन गर्न सक्ने व्यवस्था गरिएको छ । विज्ञमा कम्तीमा विद्यावारिधि गरेको र ५ वर्षको अनुभव भएको प्राध्यापक रहने कार्यविधिमा उल्लेख छ ।

प्रधानमन्त्री तथा कुलपति दाहालले विश्वविद्यालयमा गरिने नियुक्तिमा भागबन्डाको अन्त्य गरी मेरिटका आधारमा पदाधिकारी चयन गरिने प्रतिबद्धता जनाएका छन् । उनको निर्देशनपछि शिक्षा मन्त्रालयले कार्यविधि बनाएर उपकुलपतिको नियुक्ति प्रक्रिया अघि बढाएको हो । कात्तिक १७ देखि त्रिविमा उपकुलपति पद रिक्त छ । १९ औं उपकुलपति धर्मकान्त बाँस्कोटाको ४ वर्षे कार्यकाल पूरा भएपछि शिक्षाध्यक्ष भुसाललाई निमित्तको जिम्मेवारी दिइएको छ । शिक्षाध्यक्ष (रेक्टर) र रजिस्ट्रारको पद पनि रिक्त छ ।

उपकुलपति नियुक्त भएपछि मात्रै शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्तिको प्रक्रिया अघि बढाउन सकिने प्रावधान छ । शिक्षाविद्हरूले प्रतिस्पर्धाबाट चयन हुने उपकुलपतिलाई रेक्टर र रजिस्ट्रार नियुक्तिमा स्वतन्त्रता दिनुपर्ने औंल्याएका छन् । डिन, विभाग, क्याम्पससम्म राजनीतिक भागबन्डाका आधारमा हुने गरेको नियुक्तिसमेत रोक्नुपर्ने उनीहरूको सुझाव छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत