गाउँ सहर

राष्ट्रिय सभाका लागि मतदान सुरु, १९ सदस्य छानिने

हेटौंडा-५ स्थित भुटनदेवी उच्च माविमा राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्दै प्रदेशका सांसद युवराज चौलागाईं ।

काठमाडौं । राष्ट्रिय सभा चुनावमा मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि राष्ट्रिय सभाका १९ सिटका लागि मतदान सुरु भएको हो ।

आगामी फागुन २० बाट पदावधि सकिने राष्ट्रिय सभाका २० मध्ये १९ सदस्यका लागि बिहीबार सातै प्रदेशमा मतदान भइरहेको हो । सातवटै मुकामका मतदान केन्द्रबाट बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले मतदान सकिएको तीन/चार घण्टाभित्रै परिणाम घोषणा हुने बताए । उनका अनुसार ७ वटा प्रदेशमा रहेका मतदानस्थलमा १९ पदकै लागि मत हाल्ने केन्द्र छन् ।

आयोगले कोशीका लागि प्रदेश निर्वाचन कार्यालय, मधेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, वाग्मतीका लागि भुटनदेवी मावि र प्राविधिक शिक्षालय, गण्डकीमा प्रदेश निर्वाचन कार्यालय, लुम्बिनीमा कर्मचारी मिलन केन्द्र, कर्णालीमा निर्वाचन कार्यालय र सुदूरपश्चिममा प्रदेशसभा भवनलाई मतदानस्थल तोकेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशका सांसद, नगरपालिका र गाउँपालिकाका प्रमुख/उपप्रमुख मतदाता हुन्छन् । जनसंख्याका आधारमा उनीहरूको मतभार तोकिन्छ । पछिल्लो जनगणनाको तथ्यांकअनुसार आयोगले प्रदेशसभा सदस्यको ५३ र पालिकाका प्रमुख/उपप्रमुखको १९ मतभार तोकिएको छ । निर्वाचन हुने १९ जनामा (मनोनीतबाहेक) वाग्मतीमा ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३/३ तथा कोशी, मधेश र लुम्बिनी प्रदेशबाट २/२ सिटका लागि चुनाव हुँदै छ । रिक्त पद जुन समूह र प्रक्रियाबाट निर्वाचित भएको हो, सोही समूह र प्रक्रियाबाट सदस्य निर्वाचित भएर आउँछन् ।

फागुन २० गते पदावधि सकिने सांसदहरूमा एमालेबाट राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित विमला राई पौड्याल (महिला मनोनीत), दीपा गुरुङ (महिला), इन्दु कडरिया (महिला), दिलकुमारी रावल थापा (महिला), कुमार दसौदी (अन्य), नरपति लुवार (दलित), भैरवकुमार श्रेष्ठ (अन्य) र रामचन्द्र राईसहित ९ जना छन् । कांग्रेसबाट राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीसहित अनिता देवकोटा (महिला), जितेन्द्रनारायण देव, प्रकाश पन्थ (अपांगता) गरी ४ जना, माओवादीबाट बिना पोखरेल (महिला), हरिराम चौधरी (अन्य), महेशकुमार महरा गरी ३ जना, एकीकृत समाजवादीबाट नन्दा चापागाईं, सिंगबहादुर विश्वकर्मा (दलित), जसपाबाट प्रमिला कुमारी (महिला) र स्वतन्त्र खिमलाल देवकोटा छन् ।

निर्वाचनमा भाग लिन १२ राजनीतिक पार्टीले आयोगमा दल दर्ता गरे पनि चुनावी मैदानमा ८ दलका ५१ उम्मेदवार छन् । सत्ता गठबन्धनबाट कांग्रेस, माओवादी, नेकपा (एस) र जसपाले साझा उम्मेदवार अघि सारेर गठबन्धन गरेका छन् । जसमा कांग्रेसका १०, माओवादीका ६, एसका २ र जसपाका १ उम्मेदवार छन् ।

सत्ता गठबन्धनसँग कसिलो प्रतिस्पर्धा रहेको कोशीमा प्रमुख प्रतिपक्ष एमालेले राप्रपासँग गठबन्धन गरेको छ । कोशी सरकारमा सत्ता गठबन्धनसँग सभामुख पद लिएको राप्रपाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भने एमालेसँग गठबन्धन गर्न पुगेको हो । एमालेले कोशीमा राप्रपाका अन्य समूहबाट उम्मेदवारी दिएका उद्धव पौडेललाई र राप्रपाले एमालेका महिला उम्मेदवार रुक्मणी कोइरालालाई सघाउने सहमति भएको छ ।

कोशीमा कुल मतभार १० हजार १३५ छ । कांग्रेस, माओवादी, एस र जसपासहितको सत्ता गठबन्धनको मत ५ हजार ४७४ छ भने एमाले र राप्रपाको मत ४ हजार ६०४ छ । स्वतन्त्रको मत ५७ छ । एमालेले अन्य प्रदेशमा भने घोषित रूपमा गठबन्धन गरेको छैन । सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले आफ्नो दललाई गठबन्धनले उपेक्षा गरेको भन्दै मधेश प्रदेशमा उम्मेदवारी दिएको छ । वाग्मतीमा नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएको छ ।

निर्वाचन आयोगका अनुसार कोशीमा १० हजार १३५, मधेशमा १० हजार ७४४, वाग्मतीमा १० हजार ३३३, गण्डकीमा ६ हजार ४१०, लुम्बिनीमा ८ हजार ७५३, कर्णालीमा ५ हजार ८४ र सुदूरपश्चिममा ६ हजार १०० गरी जम्मा ५७ हजार ५५९ मतभार छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत