विदुर तिमल्सिना 'देवदूत' काे एउटा गजल
- विदुर तिमल्सिना \'देवदूत\'
- ७ फाल्गुण सोमबार, २०८० | १२:०२:०० मा प्रकाशित

रहरहरूले पखेटा हाले पछि हजुरको उडान शुरू भो
सम्बन्ध यस्तो विमानस्थल रहेछ जहाँ डुबान शुरू भो
यता कलिलो जवानी बिक्ने उता बलियो जवान बिक्ने
सरकारी संस्थानहरू बन्द गरेर कस्तो दोकान शुरू भो
बाँचुन्जेल धारेहात लाएर जस्लाई धर्तीको बोझ भनियो
मरेको दिनदेखि गल्ली गल्लीमा उस्कै गुणगान शुरू भो
पर्दा पछाडी त वहाँहरू मिलेर के के गर्नु भो गर्नु भो
पर्दा अगाडि चै वहाँहरूको भर्खर चिनाजान शुरू भो
राजमार्ग भरी साथी नै साथी बने जहाँ मैदान शुरू भो
साथीहरू सबै त्यै मोडमा छुट्टिए जहाँ चट्टान शुरू भो
विश्वासले बनेको सम्बन्धमा कारोबारले ठाउँ लिँदै गयो
पुरानो साथी बल्ल चिनियो नियतको पहिचान शुरू भो
नानीहरू के सिकेर जालान् र कस्तो भविष्य बनाउलान्
फूलको सम्मेलनमा माला लाएर काँडाको सम्मान शुरू भो
सेतोलाई कालो मात्रै भन्नु भो, हो लाई हैन भन्नै बाँकी छ
के के भन्नुहुन्छ सुन्दै जानुस् न भर्खर त बयान शुरू भो
प्रतिकृया दिनुहोस