गाउँ सहर

पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत

काठमाडौँ । छिमेकी देश भारतले पाकिस्तानसँगको आफ्नो तनावका कारण नेपालको आपूर्तिमा समस्या नहुने बताएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पाकिस्तानसँगको तनावका कारण भारतबाट नेपालमा हुने आपूर्ति व्यवस्थापनमा कुनै समस्या नहुने बताएका हुन् ।

शुकुरबार लैनचौरस्थित दूतावासमा मूलधारका सञ्चार माध्यमका सम्पादकहरूसँगको कुराकानीमा राजदूत श्रीवास्तवले पेट्रोलियम पदार्थसहित कुनै पनि किसिमका वस्तुको नेपालतर्फको आपूर्ति व्यवस्था सहज हुने भएकाले ढुक्क हुन अनुरोध गरे ।

उनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको पनि जानकारी दिँदै विद्यमान असहज परिस्थितिलाई मध्यनजर गरी घुसपैठसहित अवाञ्छित गतिविधि हुन नदिन दुवै देशकातर्फबाट सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

राजदूत श्रीवास्तवले हिजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको जानकारी दिँदै आतङ्कवादको विरोधसहित त्यसका विरुद्ध हुने कदमप्रति प्रधानमन्त्रीबाट ऐक्यबद्धता प्रकट भएको बताए ।

विश्व शान्तिको पक्षमा दृढ रहेको नेपालको कुनै पनि भूमि आतङ्कवादको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेको पनि उनले जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत