भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- गाउँ सहर संवाददाता
- २७ बैशाख शनिबार, २०८२ | १९:५८:०० मा प्रकाशित

काठमाडौं । भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन्।दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् ।
भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा सबै सैन्य कारबाही रोक्न सहमत भएको पुष्टि गरेका छन् ।
मिश्रीका अनुसार युद्धविराम लागू गर्न निर्देशन जारी गरिएको छ र मे १२ को मध्याह्नमा डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) स्तरीय अर्को चरणको वार्ता हुनेछ ।
विदेशमन्त्री मिश्रीले भने, “पाकिस्तानको डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) र भारतीय डीजीएमओबीच आज अपराह्न फोनवार्ता भएको र उनीहरुबीच भारतीय समय अनुसार साँझ पाँच बजेदेखि जमिन, आकाश र समुद्रमा सबै प्रकारका गोलाबारी र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।”
उनले भने, “दुवै पक्षलाई आजैदेखि यो समझदारीलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ।सैन्य अपरेसनका महानिर्देशकहरूबीच मे १२ मध्यान्न १२ बजे फेरि कुरा गर्नेछन् ।”
यसअघि शनिबार एक प्रेस ब्रिफिङका क्रममा मिश्रीले पाकिस्तानले भारतविरुद्ध गरिरहेको कारबाहीलाई ‘उत्तेजक’ प्रकृतिको रूपमा हेरिएको बताएका थिए ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले पनि युद्धविरामको पुष्टि गर्दै भने, “पाकिस्तान र भारत तत्काल लागू हुनेगरी युद्धविराम गर्न सहमत भएका छन् ।”
उनले भने, “पाकिस्तानले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नगरी यस क्षेत्रमा शान्ति र सुरक्षाका लागि सधैं प्रयास गर्दै आएको छ।”
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुवै देश तटस्थ स्थलमा व्यापक विषयमा वार्ता सुरु गर्न सहमत भएको बताएका थिए ।
अमेरिकी विदेशमन्त्री रूबियोले भने, “बितेका ४८ घण्टामा उपराष्ट्रपति भान्स र मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ, भारतका विदेशमन्त्री सुब्रमण्यम जयशङ्कर, सेनाप्रमुख असिम मुनीर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र असिम मलिकलगायत भारत र पाकिस्तानका वरिष्ठ अधिकारीसँग कुराकानी गरेका छौँ ।”
उनले अगाडि भने, “भारत र पाकिस्तानका सरकारहरू तत्काल युद्धविराम गर्न र तटस्थ स्थलमा व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ। हामी प्रधानमन्त्री मोदी र सरिफलाई शान्तिको बाटो रोज्ने बुद्धिमत्ता, विवेक र राजनेताको प्रशंसा गर्दछौँ ।”
यसअघि गत मे २ मा पहलगाममा भएको आतङ्ककारी हमलाको जवाफमा भारतले मे ७ मा अप्रेसन सिन्दूर चलाएको थियो।उक्त आक्रमणमा परी २६ जनाको मृत्यु भएको थियो भने पाकिस्तानले पनि जवाफी कारबाही चलाएको थियो जसका कारण भारतीय सर्वसाधारणसहित केही सुरक्षाकर्मीको हताहत भएको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- लायन्स क्लब ३२५ 'ई' को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पाेखरेल, ट्रेजररमा र चाैलागाईँ
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
प्रतिकृया दिनुहोस