गाउँ सहर

बयानपछि चाैधरीकाे प्रतिक्रिया : 'सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीति गर्‍यो'

काठमाडाैं । बाँसबारी जुत्ता कारखानाको जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर फर्केपछि सांसद तथा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले सरकारकाे रवैयाप्रति असन्तुष्ट जनाएका छन् । 

 सांसद एवं उद्योगी विनोद चौधरीले सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीतिकरण गरेको बताएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएपछि बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित भइ बयान दिइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले उद्यम र उद्यमी तथा करदातामाथि राजनीतिकरण गरेको आरोप लगाएका हुन् ।

उनले राज्यले आफू जत्तिको व्यक्तिमाथि समेत राजनीति गरिरहेको भन्दै नेपाल र विश्वभर रहेका नेपाली युवा, नेपालका उद्यमी, रोजगारदाता, करदाताहरूले आफ्नो मनमा कुन सन्देश लिएर लगानी गर्दछन् भन्नेकुराको हेक्का राज्यले राख्नुपर्ने बताए ।

‘हिजो गोप्य पत्रको नाममा म संसदमै थिएँ । संसदमा हुँदाहुँदै तीन मिनेटभित्र त्यहाँ अनुसन्धानको बारेमा जानकारी गराएको पत्र जुन रुपले देशभर देशभरका सबै सञ्चारमाध्यमहरू रंगिए, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि गरिएको हो भन्नेकुरा स्पष्ट भएको स्थिति छ । मैले यो विषयमा कुरा उठ्ने बित्तिकै मेरो भाइमाथिको अनुसन्धान सुरु हुने बित्तिकै दलको बैठकमा आफ्ना संक्षिप्त कुराहरू राखेँ । जुन पब्लिकल्ली बाहिर आए । म माथिको अनुसन्धानको कुरा चल्ने बित्तिकै मैले रोष्टममा उभिएर देशको नीति, निर्माण गर्ने, ऐन कानुन बनाउने र सरकारै पनि बनाउने सबैभन्दा महत्त्वपूर्ण फोरममै निर्वाचित प्रतिनिधि सभाको सदस्यको हैसियतले आफ्ना कुराहरू राखेँ,' उनले भने, 'मलाई यहाँ आउन मौखिक रुपमा जानकारी गराइयो, म एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले म यहाँ सहयोग गर्न उपस्थित भएँ ।'

उनले आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरूलाई बुझाउन आवश्यक नरहेको बताए । उनले भने, 'मैले अब ४५ वर्षको आफ्नो यात्रापछि मेरो आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन, त्यो पनि खासगरीकन स्टन्ट गर्नेहरूलाई । म फेरि पनि यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्रलाई, उद्यमीलाई, लगानी कर्तालाई विशुद्ध राखिनुपर्दछ, राजनीतिका आफ्ना फोरम छन्, आफ्ना तरिका छन्, म पनि नवलपरासी पश्चिमबाट विकासको फर्ममा म प्रत्यक्ष निर्वाचित सांसद हुँ, यी दुई कुरालाई कहिल्यै जोडेको छैन र भोलिका दिनमा पनि गर्नेछैन ।’

यस्तै उनले राज्यले यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानी कर्तालाई विशुद्ध राख्न आवश्यक रहेको बताए । सांसद चौधरीले आफूलाई सरकारी वकिलको कार्यालयबाट मौखिक रुपमा उपस्थित हुन भनेपछि उपस्थिति भएको बतााए । सांसद चौधरीले आफू जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले अनुसन्धानको लागि सहयोग गर्न उपस्थित भएको बताए ।

उनले ४२ वर्षअघिको बाँसबारीको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ पब्लिक—प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नविनतम सोचलाई राजनीतिकरण गर्नु दुःखद् रहेको बताए । १० रोपनी जग्गाको बारेमा कुनैपनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानसिकताको उपज रहेको उनले बताए ।

'४२ वर्षअघि बाँसबारी जस्तो अनाकन्टार ठाउँको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ एउटा त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नविनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो, त्यो अत्यन्त दुःखलाग्दो छ । ४२ वर्षअघिको १० रोपनी बाँसबारीको जग्गाको मूल्य कति नै पर्दथ्यो होला भन्नेकुरा सबैले बुझेका छन्, नेपालभर,' उनले भने, 'यो देशकै एकमात्र हजारौँ रोपानीको निजी औद्योगिक ग्राम स्थापना गर्ने रुपले मुलुकभर नै विभिन्न विगत १४० वर्षदेखि र अझ व्यवस्थित रुपले ८० वर्षदेखि सम्पूर्ण देशभर नै र हाम्रो विभिन्न परियोजना गर्ने रुपले यो १० रोपनी जग्गाको बारेमा कुनैपनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानसिकताको उपजबाहेक केही पनि होइन ।'

उनले आफ्नो ४५ वर्षको लामो अभियानमा एउटा उद्यमीको हैसियतले, एउटा उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको अध्यक्षको हैसियतले, एउटा विचार र राजनीतिकर्मीको हैसियतले विकासको राजनीति गरेको बताउँदै आफूलाई प्रोफेसनल र विकासप्रेमीको हैसियतले फोरममा उभ्याएको बताए ।

'तर आज यो इस्युमा भने राजनीति गर्ने, राजनीतिकरण गर्ने, उद्यमलाई राजनीति गर्ने, एउटा उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्सपेयरलाई राजनीतिकरण गर्ने कुरा स्पष्टसँग देखियो,' उनले भने, 'अहिले अत्यन्त कठिन परिस्थिति भएर गुज्रिरहेको नेपाल आर्थिक दृष्टिकोणबाट यी कुराहरू रोज आउने गर्दछन् । यो बेलामा म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरी नेपालभरका र विश्वभर रहेका नेपालका युवाहरूले, नेपालका उद्यमीहरूले रोजगारदाताहरूले, करदाताहरूले कुन सन्देश आफ्नो मनमा लिएर जाने हो भन्नेकुराको हेक्का राज्यले राख्नुपर्ने हो ।'

गाउँ सहर संवाददाता

तपाईँको मत