खेल

नेपालले दियाे आयरल्यान्ड वल्भ्सलाई १ सय ९९ रनको लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सलाई दोस्रो टि२० खेलमा १ सय ९९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन जोड्यो । नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन जोड्दा अन्य ३ ब्याटरले २५ रनको आँकडा पार गरेका थिए ।

ओपनर आसिफ शेख तेस्रो ओभरमा म्याथ्यु फोस्टरको बलमा आउट भए । ९ बलमा १ चौका र १ छक्कासहित ११ रन जोडेका उनी विकेटकिपरको हातबाट समातिए ।

पाँचौ ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि पेभेलियन फर्किए । फोस्टरकै बलिङमा कुशल मिड विकेटमा सहजै क्याच थमाउन पुगे । उनले १६ बलमा २-२ चौका र छक्कासहित २५ रन जोडे ।

सातौं ओभरमा अनिल शाह पनि आउट भए । उनी ११ बलमा १२ रन जोड्दै ठूलो सट खेल्ने धुनमा टप एज लाग्दै विकेटकिपरको हातबाट समातिए ।

चौथो विकेटका लागि कप्तान रोहित पौडेल र गुलशन झाले ७१ रनको साझेदारी गरे । गुलशन १४ औं ओभरमा आउट हुँदा नेपालले १ सय २९ रन जोडेको थियो । ३२ बलमा १ चौका र ४ छक्का प्रहार गरेका उनले सर्ट कभरमा सहजै क्याच दिए ।

कप्तान रोहित पनि १६ औं ओभरमा क्याच आउट नै भए । ग्याभिन होएको बलमा उनी पनि कभर क्षेत्रमा सहज क्याच दिएर पेभेलियन फर्किए । रोहितले २४ बलमा ५ चौकाका साथ ३३ रन बनाए ।

कुशल मल्ल आक्रामक इनिङ खेल्दै १८ औं ओभरमा क्याच आउट भए । उनले १३ बलमा ३४ रन जोड्ने क्रममा १ चौका र ४ छक्का प्रहार गरे ।

विवेक यादवले ८ बलमा विना कुनै बाउन्ड्री नटआउट ७ रन बनाए । सन्दीप जोराले इनिङको अन्तिम बलमा क्याच आउट हुनुअघि २१ रन जोडे । उनले ९ बलमा ४ चौका र १ छक्का जोडे ।

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा रहेका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत