खेल

लोकेशको शतक तर आरिफबाहेक अरू ब्याटर नचल्दा आयरल्यान्ड वल्भ्ससँग पराजित

काठमाडौं । ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ ।

आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । एक समय अविश्वसनीय जितनजिक पुगेको नेपाल ‘ए’ का मध्यक्रमका ब्याटरले फिनिसिङ इनिङ खेल्न नसक्दा टोली हारको सामना गर्न पुग्यो ।

सेट ब्याटर लोकेश बम र आरिफ शेखको प्रस्थानपछि अन्य ब्याटरले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । कमजोर फिनिसिङकै कारण नेपाल हार बेहोर्न पुग्यो । लोकेश आउट हुँदा नेपाललाई २४ बलमा ३४ रन चाहिएको थियो । त्यसपछि नेपालले २२ बलको अन्तरमा १२ रन जोड्दै ७ विकेट गुमायो ।

ओपनर लोकेशले ५६ बलमा ९ चौका र ८ छक्कासहित १ सय ६ रन जोडे । उनी १६ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भएका थिए । त्यसको केहिबेरमै आरिफ पनि आउट हुँदा नेपाल बलियो स्थितिमा थियो ।

आरिफ र लोकेशले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए । आरिफ १८ औं ओभरमा अर्धशतक नजिक पुगेर आउट भए । उनले २६ बलमा १ चौका र ५ छक्का प्रहार गरेका थिए ।

ओपनर विनोद भण्डारी १४ बलमा १६ रन जोड्दै छैटौं ओभरमा आउट भएका थिए । त्यसपछि देव खनाल पहिलो बलमै क्याच आउट भए । अर्जुन घर्तीले ५ बलमा ३ रन मात्र बनाए ।

मध्यक्रममा किरण ठगुन्ना २ रन, बसिर अहमद ३ रन तथा राशिद खान, हेमन्त धामी र कमल ऐरीले खाता खोलेनन् । आयरल्यान्डका लागि फिओन ह्यान्ड र म्याथ्यु हम्फ्रिजले ३-३ विकेट लिए । म्याथ्यु फोस्टरले २ तथा थोमस मेस र ग्याभिन होएले १-१ विकेट हात पारे ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । अन्तिम ४ ओभरमा नेपालले ६५ रन खर्चेको थियो ।

तीव्र गतिका बलर कमल सिंह ऐरीले दोस्रो बलमै विकेट लिएर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । रस अडेरलाई स्लिपमा क्याच आउट गराउँदै कमलले सुखद पुनरागमन गरे । एक वर्षपछि मैदान फर्केका उनले कसिलो बलिङ गरे ।

त्यसपछि केड कार्माइकल र पिटर मुरले ५८ बलमा ८८ रनको आक्रामक साझेदारी गरे । सागरले दशौं ओभरको अन्तिम बलमा केडलाई एलबीडब्लु आउट गरे । उनले २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रन जोडे ।

त्यसपछि अर्को ओभरमा पिटर अर्धशतकबाट १ रन नपुग्दा बोल्ड भए । आरिफको बलमा आउट हुनुअघि उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

स्टेफन डोहनीले १६ बलमा ४ चौका र २ छक्कासहित ३४ रन बनाए । उनलाई कप्तान निल रकले २३ बलमा १ चौका र ३ छक्कासहित ३८ रन बनाएर साथ दिए । दुवैलाई कमल सिंह ऐरीले आउट गरेका थिए ।

ग्यारेथ डेलनीले अन्तिम ३ बलमा लगातार छक्का प्रहार गर्दै १४ बलमा नटआउट ३० रन जोडे । ग्याभिन होए ६ बलमा २ छक्कासहित १८ रनमा नटआउट रहे ।

कमलले ३ विकेट लिए । आरिफ शेख र सागर ढकालको नाममा पनि १-१ विकेट रह्यो ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत