खेल

हङकङसँग पराजित हुँदा नेपाल इमर्जिङ एशिया कपमा छनोट हुनबाट बाहिरियाे

काठमाडाैं । ओमनमा जारी एसिसि प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै हङकङ इमर्जीङ टिम्स एशिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि भएको खेलमा नेपालमाथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एशिया कपमा छनोट भएको हो ।

नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍याे । हङकङलाई अन्तिम दुई ओभरमा जितका लागि १६ रन आवश्यक थियो । अविनाश बोहोराको १९औ ओभरमा एक चौकासहित ८ रन आएपछि हङकङलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो ।

ललित राजवंशीको अन्तिम ओभरको पहिलो बलमा नसरुल्लाहले पहिलो बलमा चौका प्रहार गरे भने दोस्रो बलमा २ रन प्रहार गरे । त्यसपछिको बलमा पनि दुई रन प्रहार गर्दै हङकङले जित हासिल गर्‍याे  ।  

हङकङको जितमा अंशुमन रथले ५० बलमा ४ चौका र २ छक्का प्रहर गर्दै ६५ रनको अविजित इनिङ खेले । अर्कोतर्फ नस्रुल्लाह ८ बलमा ११ रनमा नटआउट रहे । 

यस्तै बबर हायतले २५ बलमा २ छक्का प्रहार गर्दै २६ रन जोडे । एइजाज खानले १० बलमा १२ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३३ रन दिँदै ३ विकेट लिए । यस्तै दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा २७ रन दिएर २ विकेट लिए ।  

त्यसअघि पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले टस जितेर ब्याटिङ गर्दै  आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । एक समय ९८-८ को अवस्थामा रहेको नेपाली इनिङलाई अन्त्य तिर दीपेन्द्रले उकासेका थिए ।

नेपालको सुरुवात पुनः राम्रो रहन सकेन । नेपालका ओपनर कुशल भुर्तेल आज लगातार दोस्रो खेलमा डक आउट भए । इनिङको दोस्रो बलमा उनी आयुष शुक्लाको द्वारा विकेटकिपर जिशन अलीको हातबाट क्याच आउट भए ।

तेस्रो नम्बरमा क्रिजमा आएका सोमपाल कामी ७ बलमा २ चौका सहित १२ रन बनाएर तेस्रो ओभरमा आयुषकै बलमा आदिर गोरावाराको हातबाट क्याच आउट भए । अर्का ओपनर आसिफ शेख पनि पाचौं ओभरमा ११ बलमा ५ रनमा आयुषकै शिकार बने ।

आठौँ ओभरमा कप्तान रोहित पौडेल पनि पेभेलियन फर्किए । रोहित आठौँ ओभरमा अतिक इकबालको बलमा आउट हुनुअघि १९ बलमा २ चौका सहित २१ रन जोडे ।

कुशल मल्ल पनि १३ रन मात्र बनाएर यासिम मुर्तजाको बलमा आउट हुन पुगे । त्यसपछिका दुई ब्याटर सन्दिप जोरा र गुलशन झा १४औ ओभरमा लगातार दुई बलमा क्रमश: २२ र ६ रन बनाएर रनआउट भए । करण केसी पनि ३ रन मात्र बनाएर एहसान खानको बलमा एलबिडब्लुमा फसे । दीपेन्द्र र ललित राजबंशी अविजित रहेका थिए । ललितले ३ बलमा २ रन बनाए ।

हङकङका लागि आयुष शुक्लाले ३ विकेट लिए भने अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले १-१ विकेट लिए ।

इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीको सहभागिता रहनेछ । हङकङ सहित फाइनल पुगेका ओमान र युएई सो प्रतियोगितामा छनोट भएका हुन् । 

नेपालको उपाधि आकांक्षा सहित लगातार दोस्रो पटक एशिया कप खेल्ने ईच्छामा युएई हिजो बाधक बनेको थियो । प्रतियोगिताको विजेता मात्र एशिया कप खेल्ने प्रावधान रहेकोमा साविक विजेता नेपाल हिजो युएई विरुद्ध ६ विकेटले पराजित भएसँगै नेपालको उपाधि यात्रा अघि बढ्न सकेन ।

उता हङकङ भने घरेलु टोली ओमान विरुद्ध हिजो नै ५ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो ।

हङकङ र नेपाल यस अघि यसै प्रतियोगितामा समूह चरणमा भिडेका थिए । सो खेल नेपालले ८ विकेटले जितेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत